काठमाडौंः गोंगबु नयाँ बसपार्कस्थित सागा एडभेन्चर टुर्स एन्ड ट्राभल प्रा.लि. ले कराते खेलाडी सुमन तिमल्सिनालाई आज ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ ।

सागाका प्रबन्ध निर्देशक स्वच्छम गुरुङले सुमनलाई सो सम्बन्धी नियुक्ती पत्र एक कार्यक्रमबीच हस्तान्तरण गरे ।

त्यस बापत सागाले सुमनलाई विदेशमा हुने कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितालगायतका खेलकुद कार्यक्रममा सहभागी हुन निःशुल्क हवाई टिकट उपलब्ध गराउने भएको छ ।

दुवैबीच एक वर्षका लागि सम्झौता भएको प्रबन्ध निर्देशक गुरुङले जानकारी दिए ।

प्रबन्ध निर्देशक गुरुङले पहिलो पटक खेलकुदसँग जोडिन पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा पनि खेल क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने चाहना रहेको बताए ।


‘नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै सफलता पाएका छन् । थुप्रै खेलाडीले आर्थिक अभावका कारण अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाएको हामीले सुनेका छौं । हाम्रो यो कदमले थारै भएपनि खेलाडीलाई राहत मिल्ने छ भन्ने विश्वास छ । त्यसैले हामीले उहाँ (सुमन) बाट सुरुआत गरेका हौं ।’ प्रबन्ध निर्देशक गुरुङले भने, ‘आगामी दिनमा अन्य खेलाडीलाई आफ्नो संस्थाको तर्फबाट सक्दो सहयोग गर्ने छौं । देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने प्रमुख माध्यम खेल क्षेत्रसँग जोडिन पाउँदा असाध्यै खुशी लागेको छ ।’

उनले अन्य खेलाडीलाई पनि अन्तर्राष्ट्रिय हवाइ टिकटमा विशेष छुट दिने प्रतिबद्धता व्यक्त गरे ।

सुमनले ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेकोमा सागालाई धन्यवाद दिँदै सागाको प्रवर्द्धनमा आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

‘ए’ श्रेणीको अन्तर्राष्ट्रिय जज समेत रहेका सुमनले खेलाडीका रुपमा विभिन्न देशमा १८ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । त्यसमा उनले बंगालादेश र श्रीलंकामा भएको प्रतियोगितामा स्वर्ण तथा मलेसियामा भएको प्रतियोगितामा काँस्य जितेका छन् । उनले १३ अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । उनले क्यानाडामा भएको चौथो विश्व मार्सल आर्ट्स सम्मेलनमा पनि सहभागिता जनाएका थिए ।


प्रकाशित मितिः २०७७ साल पुस १५ गते बुधबार, १९:५५