सुरक्षाको बाहानामा भारतीय सुरक्षाकर्मीको बाक्लो उपस्थिति सामरिक र सुरक्षाको दृष्टिकोणले गम्भिर







नेपाल तारा: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् । उनको यो नेपाल भ्रमण तेस्रो हो । उनले आफ्नो नेपाल भ्रमणलाई प्रधान धार्मिक यात्रा भएको बताएर राजकीय मात्र होइन आफ्नो भ्रमण धार्मिक भएको संकेत गरे । नरेन्द्र मोदी नेपाल भ्रमणको वास्तविक उद्देश्य के थियो होला ? उनले यो भ्रमणमा कस्तो संकेत दिए । नेपाल–भारत दुवै देशलाई के फाइदा होला ? वास्तवमा नेपालले के उपलब्धि होला ? भ्रमणको अन्त्यमा आएको संयुक्त वक्तव्य दिएका सन्देश अहिलेका महत्वपूर्ण विषय हुन् ।

धार्मिक रूपमा मोदीको भ्रमण
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले


नेपाल भ्रमण सीता जन्मभूमि जनकपुरधामबाट सुरु गरे । शुक्रबार जानकी मन्दिरमा षोडशोपचारद्वारा विशेष विधिसहित पूजा गरे । उनले जानकी मन्दिरमा जानकी माताको पूजा अर्चना गरेपछि जनकपुरको बाह्रबिघा मैदानमा सम्बोधनसमेत गरे । सम्बोधनमा उनले मिथिला कला, त्यहाँको बौद्धिक परम्परा, पौराणिक कालदेखि नै महिला सशक्तीकरणको खुलेर प्रशंसा गरे ।

जनकपुरबाट नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा रामायण सर्किटको घोषणा गरे ।

यसमा जनकपुरधाम, अयोध्यादेखि रामायणसँग जोडिएका नपाल–भारतका ऐतिहासिक क्षेत्रलाई समेटिने बताइएको छ भने श्रीलंकासमेत जोडिने बताइएको छ । यो रामायण सर्किटमा इन्डोनेसियादेखि अन्य राष्ट्रसमेत जोडिने मोदीले बताएका छन् । मोदीले लुम्बिनीदेखि बोधगयासहित बुद्धसम्बन्धी विभिन्न क्षेत्र जोडेर बुद्ध सर्किट बनाउने तथा जैनसम्बन्धी विविध धार्मिक क्षेत्र जोडेर जैन सर्किटसमेत बनाउने घोषणा गरेका छन् । त्यस्तै, दुवै देशका प्रधानमन्त्रीले जनकपुरधामदेखि अयोध्यासम्मको सीधा बससेवाको उद्घाटन गरे ।

नेरन्द्र मोदीले जनकपुरधाम र प्रदेशको विकासका लागि १ अर्ब सहयोग प्रदान गर्ने घोषणा गरेका छन् । जनकपुरपछि उनी शनिबार मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरे । त्यहाँ पनि उनले विशेष पूजाअर्चना गरेका हुन् । उनले नेपालको मुस्ताङ जिल्लास्थित मुक्तिनाथको दर्शन गर्ने अवसर पाएकोमा आफू खुसी भएको बताएका छन् । त्यस्तै, पशुपतिनाथ मन्दिरमा समेत पूजाअर्चना गरे । नेपालका धार्मिक रूपमा यी तीनै अति विशिष्ट क्षेत्रको दर्शन, पूजन र अवलोकनले ती धर्मक्षेत्र पुनः संसारभर चासोको रूपमा अघि आएका छन् । यसले संसारभरका धर्मावलम्बीको चासो बढ्ने आशा गर्न सकिन्छ ।

यी धार्मिक भ्रमणमा जनकपुरको व्यवस्थापन कमजोर देखियो भने मुक्तिनाथ मन्दिरमा नेपाली पत्रकारलाई जान दिइएन तर भारतीय फोटो पत्रकारलाई निर्बाधरूपमा प्रवेश दिइएको थियो । मन्दिरभित्रको फोटो खिच्न निषेध गरिएको छ, हिन्दु धार्मिक आचारमा पनि देवीदेवताका मूर्तिको फोटो लिन निषेध छ तर भारतीय पत्रकारले मन्दिरभित्रका मूर्ति तथा अन्य वस्तुको लाइभ नै दिए । यसलाई नेपाली सरकारको कमजोरी र भारतीय पक्षको पेल्ने प्रवृत्तिका रूपमा लिइएको छ । यसलाई नेपालीहरूले अप्ठ्यारो महसुस गरेका छन् । यस्तो अवस्था पुनः दोहोरिनु हुँदैन ।

राजनीतिक रूपमा मोदीको यात्रा

छिमेकी राष्ट्रका प्रधानमन्त्रीको समय–समयमा एक–अर्का देशमा उच्चस्तीय भ्रमण हुनु राजनीतिक रूपमा राम्रो हो । यसले दुई देशबीचको असमझदारी हटाउन सहयोग गरी आपसी सद्भाव बढाउन मद्धत गर्छ । मोदीको भ्रमणले पनि यसलाई निरन्तरता दिने आशा गर्न सकिन्छ । यो भ्रमणले यति मात्र होइन भारतले लगाएको नाकाबन्दीपछि नेपालमा भारतप्रति देखिएको असन्तुष्टि र तीतोपनालाई कम गर्नुपर्ने मोदी आफैंले पनि महसुस गरेजस्तो त देखियो तर उनले त्यसलाई आफ्नो सम्बोधन तथा अन्य कतै पनि उल्लेख गरेनन् । भूकम्पले नेपाली जनजीवन अत्यन्तै पीडित भएका बेला गरिएको नाकाबन्दी नेपालीले कहिल्यै पनि भुल्न सक्दैनन् । यति मात्रै होइन भारतीय प्रधानमन्त्रीको यो यात्रा चीनको वान रोड वान बेल्टको अवधारणालाई आफ्नै तरिकाले जवाफ दिन भारतको प्रयासका रूपमा पनि उपयोग हुने देखिएको छ । मोदीले रामायण सर्किटदेखि अन्य विविध धार्मिक सर्किटका रूपमा वान रोड वान बेल्टजस्तै व्यापारिक सञ्जाल बढाउने संकेत स्पष्ट रूपमा अघि सारेकाका छन् । अर्को, काठमाडौंसम्म रेल जोड्ने कुरा पनि यसैसँग सम्बन्धित छ । संयुक्त वक्तव्यमा पनि जलमार्ग, रेल, रोड र हवाईमार्गबाट व्यापार प्रवर्धन गर्ने बताइएको छ ।

भारतीय प्रधानमन्त्रीले बीबीआईएनलाई सशक्तता दिने, त्यसलाई अघि बढाउने तर सार्क संगठनलाई कम महत्व दिने संकत गरेका छन् । भारत–पाकिस्तानबीचको तीक्तताका कारण भारतले सार्कलाई महत्व नदिने संकेत उनको छ ।

आर्थिक महत्व
नेपाल र भारत आर्थिक रूपमा अत्यन्तै नजिक छन् । नेपालको आयात–निर्यात व्यापारको ६२ प्रतिशत भारतसँग नै हुन्छ । अर्को, नेपालको व्यापार घाटा ९ खर्बभन्दा बढी छ, त्यसमध्ये धेरै ठूलो हिस्सा भारतसँगै हुन्छ । यस्तो अवस्थामा मोदीको भ्रमण आर्थिक रूपमा महत्वपूर्ण नहुने कुरै भएन । मोदीले धार्मिक सर्किटको घोषणा गरे । यी सर्किटलाई सडक, रेल, जल र हवाई मार्गबाट जाडिने पनि बताएका छन् । यो धार्मिक मात्रै नभएर आर्थिक महत्वको विषय हो र भारतको छिमेकीसँगको थप व्यापरिक कार्यमा जोड पनि हो । अर्काे, उनले जनकपुरको विकासका लागि एक अर्ब सहयोगको घोषणा गरे । अरुण तेस्रोको नेपालका प्रधानमन्त्री केपी ओली र भारतका प्रधनमन्त्री मोदीले संयुक्त रूपमा शिलान्यास गरे । अर्को, मोदीले अहिलेसम्म प्रतिबद्धता जनाइएका आयोजना छिटै पूरा गरिने पनि बताएका छन् । उनले पहिलेका प्रतिबद्धता पूरा गर्ने त बताएका छन् तर पञ्चेश्वर आयोजना, महाकालीदेखि अन्य अनेकौं सन्धि÷सम्झौता कार्यान्वयन गर्ने कुरा भने स्पष्टरूपमा बताएनन् । हुन त उनको भ्रमणमा नेपालले भारतसँगको व्यापारमा भोगेका अप्ठ्याराका विषयमा कुनै छलफल भएन ।

भ्रमणका क्रममा देखिएका अनेकौं अमिल्दा र आपत्तिजनक कुराहरू

मोदीको जनकपुर भ्रमणका बेला त्यहाँको व्यवस्थापन कमजोर देखियो । उनको उपस्थितिमा त्यहाँ राखिएको नेपालको झण्डाको स्वरूप नै बिगारेर राखियो । जसलाई आमनेपालीले आपत्तिजनक विषय माने । यास्तो हुनु आपत्तिजनक भएको प्रतिक्रिया दिए । त्यसैबला मोदीको अभिनन्दनको वक्तव्यमा प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधान मधेसप्रति विभेदपूर्ण रहेको अभिव्यक्ति दिए । अर्को, उनले प्रदेश २ अत्यन्तै गरिब भएको र भारतले सहयागे गर्न अपिल गरे । जुन संवैधानिक रूपमा पनि आपत्तिजनक छन् । यसले केन्द्र सरकारलाई नाघेर प्रदेशले विदेशीसँग सहयोग लिन प्रयास गर्ने तथा तराई–मधेसले विभिन्न रूपमा संविधानलाई विभेदपूर्ण देखाउने र केन्द्र सरकारलाई निरन्तर आरोप लगाउँदै यसमा भारतको संलग्नता खोजेको जस्तो देखियो ।

नरेन्द्र मोदीको भ्रमणमा मुक्तिनाथ मन्दिरमा देखिएको व्यवस्थापन र व्यवहार पनि आमनेपालीले आपत्तिजनक मानेका छन् । यसमा भारतीय पक्षको पेलाहा प्रवृत्ति र नेपालको समर्पणवादी व्यवहार राम्रो मानेनन् । अर्को महत्वपूर्ण कुरा अरुण तेस्रोको दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा शिलान्यास गर्दा ऊर्जामन्त्रीलाई नै बेवास्ता गरिएको देखियो । यो कार्यक्रममा ऊर्जामन्त्री उपस्थित भएनन् । यस्तो महत्वपूर्ण कार्यमा सम्बन्धित मन्त्रीलाई नै उपस्थित नगारउनु आपत्तिजनक कुरा हो । प्रधानमन्त्री ओलीले विदेशसँग गरिने यस्तो महत्वपूर्ण काममा किन यसो गर्न चाहे ? काम त सम्बन्धित मन्त्रीले अघि बढाउने हो, प्रधानमन्त्रीले मात्रै सबै काम गर्ने त होइन । यसले एमाले र माओवादीबीच तीक्तताका कारण यस्तो गरिएको हो कि ? आशंका जगाएको छ ।

सामरिक दृष्ट्रिकोणले महत्वपूर्ण विषयमा खेलवाड 
भारतीय प्रधानमन्त्री जनकपुर भ्रमणमै रहेका बेला भारतका पूर्वसांसद कीर्तिचन्द्र आजादले जनकपुर भारतको क्षेत्र हो, सुगौली सन्धिका बेला नेपाललाई दिइएको हो । २०० वर्ष भइसक्यो भन्दै अब सो भूमिलाई भारतमा गाभ्न मोदीलाई आह्वानसमेत गरे । जुन अत्यन्तै आपत्तिजनक छ । यस्ता अतिवादीका कारण नेपाल–भारतबीचको सम्न्धमा तीक्तता ल्यउन भूमिका खेल्न सक्छ । अर्को, जनकपुरमा ब्यानरमा स्वतन्त्र मधेस देखिनु विखण्डनवादीलाई प्रश्रय हुन सक्छ । यतातिर नेपाल र भारत दुवै देश गम्भीर हुनु आवश्यक छ ।

कुनै पनि सार्वभौम राष्टको वाह्या तथा आन्तरिक सुरक्षा व्यवस्था सामरिक दृष्टिकोणले अत्यन्तै संवेदनशील हुन्छ त्यसकारण मोदीको सुरक्षाको नाममा तराईदेखि हिमाल (मुस्ताङ) सम्म भारतीय वायु सेवाका विमान र सैनिकको बाक्लो उपस्थितिले एउटा सार्वभौम राष्ट्रको स्वाभिमानमा मात्र होइन सामरिक र सुरक्षका दृष्टिले अत्यन्तै गम्भीर विषय हो । भविष्यमा यस्तो हुन नदिन यसमा राष्ट्रमा गम्भीर बहस हुनु आवश्यक छ । अर्को, मोदीको नेपाल भ्रमण धेरै रूपमा विशेष, सौहाद्र्ध र दुई देशको सम्बन्धमा विशेष भूमिका खेल्ला तर नेपालले भूकम्पबाट भोगेको पीडाका बीचमा गरिएको लामो नाकाबन्दीका बारेमा उनले कहीं कतै उल्लेख नगर्नु दुखद मान्नुपर्छ भने उनको हठी पनाले नेपालले कतिपय क्षेत्रमा सरल र सहज महसुस गरे पनि कतिपय क्षेत्रमा विभिन्न रूपमा दुःख पाउने अवस्था अझ पनि रहेको शंकत गर्छ ।




ताजा समाचार


विशेष समाचार