कहाँको होला यो प्रहरी भवन ?

यो नेपालको राजधानी काठमाडौंको उत्तर प्रवेशद्धारमा अवस्थित मुड्खु प्रहरी चेक पोष्ट हो । नेपालको राजधानी यानकी मुटुको प्रवेशद्वारामा अवस्थित आधुनिक प्रहरी भवन । हेर्दा यस्तो लाग्छ, प्रहरी मानिस होइन, या कुनै अर्को प्लानेटबाट आएको जाति हो, उसलाई बस्न घर चाहिँदैन ? दिशा पिसाव गर्न अहिले पनि जंगल जानुपर्ने ? खाना पनि नपकाइ खाने जात हो ? होइन भने राजधानी जस्तो राजनैतिक, धार्मिक, सामरिक र आर्थिक हिसावले महत्व राख्ने ठाउँका सुरक्षामा दरिने प्रहरीको आवस्था यस्तो छ भने अन्य दुर दराजका प्रहरीको अवस्था कस्तो होला ? यसको जवाफ कसले देला सरकारले वा काठमाडौं प्रहरीले ?

काठमाडौं प्रहरीको नेतृत्व लिने जुनसुकै नयाँ अनुहार पनि बढो आश लाग्दा बनेर आएको देखिन्छ ।


। उनिहरुले आफुले समेत नयाँ किसिमबाट नेतृत्व गर्दै शान्ति सुरक्षाल़ाई सबल बनाउने घोषणा गर्दछन् । घोषणा गरे अनुसार नै नभएपनि केहि मात्रामा राम्रा काम पनि नभएका होइनन् तर, अहिले बिजोग अवस्थामा रहेका काठमाडौंका प्रहरीमा भौतिक पूर्वाधार परिवर्तन आउन भने सकेको देखिदैन । यसतर्फ न गृहमन्त्रालयको ध्यान पुगेको छ न त नयाँ नेतृत्वको ।

सुरक्षा जस्तो संबेदनशील बिषयमा जुनसुकै नेतृत्व आएपनि सबल र निष्पक्ष हिसाबबाट आफ्नो कर्तव्य बहन गर्दै जनतालाई सेवा सुबिधा साथै शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गराउन सक्नुपर्छ । यसका साथै प्रहरी भित्र देखिएका समस्यालाई समेत समाधान गर्नु उनिहरुको जिम्मेवारी हो । तर यो कुरा भने सेवामा खटिएका तल्लो दर्जाका प्रहरीको हकमा देखिएको छैन । राजधानी काठमाडौंमा नै कयौं प्रहरी चौंकी बिजोग अवस्थामा छन् भने देशका अन्य ठाउँहरुमा कस्तो अवस्था छ होला भनेर हामी सजिलै अनुमान लगाउन सक्दछौं ।

बि. सं. १९७१ साल देखि शान्ति सुरक्षाका विषयलाई व्यवस्थित रुपमा अगाडी लैजानका लागि नेपाल प्रहरी परिचालन गर्न सुरु गरिएको थियो। सोही अनुरुप नेपाल प्रहरीले पहिलो पटक बिरजंगबाट शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पायो । यो जिम्मा चन्द्र शमशेरले पहिलो पटक पुलिस सवाल जारि गर्दै पुलिस सवालको स्थापना गरेका थिए । चन्द्र शमशेरकै पालामा विभिन्न सवालहरु जारि भए जसमा गोश्वारा, थाना साथै चौकीहरु स्थापना गर्ने सवाल जारि भयो। बि. सं. १९७१ मा सुरुभर्इ शान्ति सुरक्षाको जिम्मा पाएको प्रहरी संगठन काठमाडौंमा आइपुग्न भने पाँच बर्ष जति लग्यो।

सूचना र प्रविधिमा समाज दिनप्रतिदिन अगाडी बढिरहेको छ। अहिले प्रयाप्त मात्रामा सूचना तथा प्रबिधिको प्रयोग गरेर देशमा शान्ति सुरक्षा कायम गराउन सकिन्छ । कतै सुबिधा सम्पन्न चौकीहरु निर्माण भएपनि कतै पालमुनिबाट ओत लागेर प्रहरीले सेवा गर्नुपर्ने अवस्था हुनु एक दुर्भाग्यको कुरा हो । हनुमान ढोका बाट सरीसकेपछि काठमाडौंको टेकु स्थित प्रहरीको प्रमुख कार्यलाय, लाजिम्पाट, मुड्खु भन्ज्याङ प्रहरी बिट लगायतका प्रहरीले रातदिन खटेर सेवा दिने स्थानको अवस्था बिजोग बन्दै गएको देखिएको छ ।

यसै मध्येको एउटा गतिलो उदाहरण हो मुड्खु भन्ज्याङको प्रहरी बिटः

मुड्खु भन्ज्याङ नाका भएर दैनिक हजारौंको संख्यामा सवारीसाधन ओहोर दोहोर गर्ने गर्छन् । राजधानी छिर्ने यो मुख्य नाकामा रहेको प्रहरीको सेवालाई हेर्ने हो अत्यान्त नाजुक अवस्थामा रहेको देखिन्छ । जाडो महिनामा सितले टमक्क भरीने यो ठाउँ गर्मी र बर्षा यामका लागि अझ कठिन अवस्थामा रहेको छ । त्यहीँ पनि प्रहरीहरु समस्यासँग जूधेर सेवा गर्न थालेको धेरै बर्ष भइसकेको छ । तर प्रहरीले चुहिएको पाल समेत सर्वसाधारणको सहयोगमा टाल्दै आउनुपर्ने अवस्था रहेको स्थानीयहरुले बताएका छन् ।

मुड्खुका स्थानियबासीले बताए अनुसार काठमाडौंको सहायक नाकाको रुपमा रहेको यो नाकामा यदि प्रहरी नभएको अवस्थमा काठमाडौं अवश्यपनि असुरक्षित रहने र खराब काम गर्नेहरु काठमाडौंमा सल्बलाउन सजीलो हुन्छ। हाल प्रहरीले त्यहाँ बसेर नाकाबाट काठमाडौं भित्रिने सवारी साधनको मात्र निगरानी नगरी स्थानीय स्तरमा हुने झै-झगडा, अपराध, कूटपिट जस्ता कार्यको न्यूनीकरणमा ठुलो योगदान पुर्याएको छ । साथै राष्ट्रीय निकुञ्जमा हुने चोरी-निकासीबाट बचाउन समेत प्रहरीले योगदान पुर्याएको स्थानीयले बताए ।

महानगरीय प्रहरी बृत्त बालजुका प्रहरी निरीक्षक राम प्रसाद गौतमका अनुसार, यसरि काठमाडौं छिर्ने नाकाको बाटोमा बसेर सेवा दिइरहेको प्रहरीसँग न अहिले भवन छ, न त अत्याधुनिक उपकरण नै, तै पनि एकनासले खटीएर सेवा दिएको छ।’ भवन निर्माणको कुरा भएपनि हालसम्म निश्चित भै नसकेको, समय-समयमा भवन निमार्णको कुरा भएपनि निर्माण हुन नसकेको हो ।

यसरी नाका लगायत विभन्न क्षेत्रका प्रहरी बिटको अस्वस्था अत्यन्त नाजुक हुँदा समेत पालमुनिकै प्रहरी बिटका माध्यमबाट देशमा शान्ति सुरक्षा सुदृढ गर्दै लैजाने कुरा गर्दै जाने तर तिनै प्रहरी बिटमा बस्ने प्रहरीको सुरक्षामा सरकारको ध्यान नजानु अत्यन्त दुःखको कुरा हो ।

मुख्य नाका नै परम्परागतः

२०७२ सालको महाभूकम्पले तातोपानी नाकाबन्द हुन पुगेपछि अहिले चाइना र नेपालको मुख्य नाकाका रुपमा समेत मुड्खु भञ्ज्याङ प्रहरी बिट रहेको छ । २१ औं सताब्दीमा पनि प्रहरीले परम्परागत तरिकाबाट नै नाकामा सुरक्षा दिन खोज्नु एक चुनौतीको बिषय हो ।

दिनप्रतिदिन बढ्दै गइरहेका अपराधिक क्रियाकलापले प्रहरी सुरक्षालाई चुनौती थप्दै गइरहेको अवस्थामा यो नाका अपराधिकालाई मुख्य प्रबेशद्वार बनाउन सहज भएको पनि सजिलै देख्न सकिन्छ। यहाँबाट काठमाडौं भित्रिने हाततियार, बिस्फोटक पदार्थ, साथै वान्टेटका सुचीमा समेत रहेका अपराधिहरु सजिलै प्रवेश गर्न र निस्कन सक्ने अवस्था छ । यही नाका भएर बिभिन्न देशका पर्यटक साथै अन्तराष्ट्रीय समुदायका बिशिष्ट व्यक्तिको पनि आवत-जावत हुने गर्दछ । प्रहरी नाकाको यस्तो जिर्ण अवस्थालार्इ अन्तराष्ट्रीय समुदायले कस्तो नजरले हेर्ने गर्छ यस बिषयमा समेत नेपाल सरकारले सोच्न जरुरी देखिन्छ ।

उदहरणको रुपमा देखिएको यस मुड्खु प्रहरीले अहिलेको अवस्थामा राजधानीको सुरक्षामा केन्द्रीत हुने हो या आफ्नै सुरक्षामा यसको जवाफ कसले देला ? जबसम्म प्रहरीनै सुरक्षित छैन कुन मनोवलले अरुको सुरक्षा गर्न सक्ला ? अहिलेको युग भनेको विज्ञान र प्रबिधिको युग हो । त्यसकारण यस्ता क्षेत्रहरुमा तत्काल भौतिक पुर्बाधारको निर्माणका साथसाथै  मानव संसाधानको वैज्ञानिक परिचालन र विज्ञान–प्रबिधीबीच तालमेल गर्दा सुरक्षा क्षेत्रका चुनौतीहरुलाई कम गर्न सकिन्छ । यसले प्रहरीको मनोबल र कन्फिडेन्स वढ्नुका साथै अपराधिक क्रियापलापमा संलग्न अपराधीहरुलाई मनोवैज्ञानिक त्रास समेत सिर्जना गराउन सकिन्छ ।

  • आशिष पौडेल