काठमाडौंः नेपाली सेनाका सुरोज महर्जन र पविन लिनथेपको जोडी चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलको फाइनलमा प्रवेश गरेका छन् ।

आज बिहान भएको सेमिफाइनल खेलमा महर्जन र लिनथेपको जोडीले साईनोका अभिषेक बोसको जोडी माथि २१–१७ र २१–१५ को सोझो सेटको जित निकाल्दै फाइनलमा प्रवेश गरेका हुन् ।

अब उनीहरुले उपाधिका लागि बुटवल ब्याडमिन्टन क्लबका विश्वास नेपाल र गणेश रायमाझीको जोडीसँग खेल्ने छन् ।

राष्ट्रिय २० बरियता बाहेकका खेलाडीहरुका बिच भएको प्रतिस्पर्धाको अर्को खेलमा नेपाल र रायमाझीको जोडीले कास्कीका भुगोल गुरुङ्ग र बिशाल खड्काको जोडीलाई १५–२१, २१–१९ र २१–१८ को प्रतिस्पर्धात्मक खेलमा पराजित गर्दै उपाधि नजिक पुगेका हुन् ।


चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मृती प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगिताको ५५ वर्ष माथिको प्रतिस्पर्धामा चितवनका बुद्धि चौधरी र चितवन जिल्ला ब्याडमिन्टन संघका पूर्व अध्यक्ष पुष्प श्रेष्ठको जोडीले जित निकाल्दै उपाधि नजिक पुगेका छन् ।

चौधरी र श्रेष्ठको जोडीले चितवनकै कालीदास पाण्डे र राजु थापाको जोडी माथि २१–८ र २१–११ को जित निकाले । अब उक्त जोडीले उपाधिका लागि बागलुङ्गका राजेन्द्र शाक्य र धादिङ्गका बिष्णुलाल श्रेष्ठको जोडीसँग प्रतिस्पर्धा गर्नेछ । शाक्य र श्रेष्ठको जोडीले चितवनका राजु कुमााल र उपेन्द्र सिंह पन्तको जोडीलाई २१–१० र २१–७ ले पराजित गरे ।


प्रकाशित मितिः २०७७ साल फागुन १ गते शनिबार, १३:३०