सुर्खेतः कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि सम्भाव्यता अध्ययन गरिएको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिकास्थित न्याउलीचौरमा निर्माण गरिने अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता अध्ययन गरेको परामर्शदाता कम्पनी इ टु सर्भिसेज–टिएइसी–ए–नट जेभीले जनाएको छ ।

परामर्शदाता कम्पनीका अनुसार, सो विमानस्थल निमार्ण सम्पन्न गर्नका लागि रु सात अर्ब ४१ करोड लागत लाग्नेछ ।

मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित कर्णाली प्रदेश सरकारका मन्त्रीले गरेको स्थलगत अनुगमनको क्रममा जभीका प्राविधिकले यस विमानस्थलको निमार्णबारे अवगत गराएका हुन् ।


पूर्व–पश्चिम चार किलोमिटर लम्बाइ र उत्तर–दक्षिण एक किलोमिटर चौडाइ भएको विमानस्थलको कूल क्षेत्रफल ३६ हजार रोपनी रहेको बताइएको छ र सम्भाव्यता अध्ययनको प्रतिवेदनका आधारमा अब डिपिआर बन्नेछ ।

हवाई तथा स्थलगत अनुगमनमा न्याउलीचौर पुगेका पर्यटन मन्त्री अधिकारीले पिछडिएको साथै पर्यटनको अथाह सम्भावना भएको कर्णाली प्रदेशको विमानस्थल निर्माण कार्यलाई सरकारले प्राथमिकतामा राखेको समेत बताएका छन् । मन्त्री अधिकारीले यसको डिपिआर तयार गरेर अब चाँडै शिलान्यास गर्ने पनि अभिब्यक्ति दिएका छन् ।

काठमाडौं बाहेकका बाहिरी जिल्लाबाट पनि छिमेकी देशमा हवाई सेवा सञ्चालन गर्ने दौडानको क्रममा प्रथमतः कर्णालीको सुर्खेतमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउनतर्फ बढी जोड दिने मन्त्री अधिकारीको भनाइ थियो । काठमाडौं नभई सोझै यहीबाट छिमेकी मुलुकमा जान सक्ने स्थिति सिर्जना गरी कर्णाली प्रदेशका नागरिकलाई न्याय दिलाउने उनले बताएका थिए ।

प्राधिकरणले गुगल नक्सांकनबाट सुर्खेत उपत्यकाभित्रको उत्तरगंगा, उपत्यका बाहिरको भेरीगंगा नगरपालिकाको रामघाटस्थित न्याउलीचौर र मदानेचौर छनोट गरेको थियो । तिनलाई पुनः नक्सांकन गर्ने प्राधिकरणले जनाएको छ । हाल कर्णालीमा आठवटा विमानस्थल सञ्चालन रहेको जनाइएको छ ।