पोखराः पोखरा महानगरपालिकाका निमित्त कार्यकारी प्रमुख गंगालाल सुवेदीले सुर्तीजन्य पदार्थ रोकथामको लागि नागरिक समाज र स्थानिय निकायबीच सहकार्य हुनुपर्ने कुरा बताएका छन् ।

क्यान्सर काउन्सिल नेपालको आयोजना र नेपाल टेलिकमको सहकार्यमा पोखरा महानगरपालिकामा सम्पन्न अन्तरक्रिया तथा जनचेतना कार्यक्रममा बोल्दे निमित्त कार्यकारी प्रमुख सुवेदीले सुर्तीजन्य पदार्थले गर्दा मानिसहरु लाखौं रुपैंया खर्च हुने र अकालमै मृत्यु हुने हुँदा सुर्तीजन्य पदार्थ रोकथामको लागि नागरिक समाज र स्थानिय निकायबीच सहकार्य हुनुपर्ने कुरा बताएका हुन् ।

उनले सहभागी स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरुलाई सुर्तीजन्य पदार्थबाट मानिसहरुलाई जोगाउनको लागि सचेत गराउनुपर्ने कुरा राखे ।


वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले सुर्तीजन्य पदार्थ नै सम्पूर्ण रोगहरुको प्रमुख कारण भएकोले यसका लागि रोकथामको लागि जोड दिनुपर्ने धारणा राखे ।

उनले फ्रान्समा सन् २०१७ मा दश लाख मानिसहरु सुर्तीजन्य पदार्थ त्यागेको उदाहरण दिँदै कम्तीमा एक जना सहभागीले एक जनालाई सुर्तीजन्य पदार्थ सेवनबाट जोगाउन सकेमा ठूलो उपलब्धी हुने कुरा राखे ।

क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले संस्थाले देशव्यापी रुपमा सुर्तीजन्य पदार्थ रोकथामको लागि अभियान संचालन गरेको बताउँदै विकसित देशमा जनचेतनाको कारण मानिसहरु सुर्तीजन्य पदार्थबाट टाढै रहने कुरा उल्लेख गरे ।

कडरियाका अनुसार साथीभाईको नकारात्मक प्रभाव र पर्याप्त जनचेतनाका अभावले गर्दा किशोर किशोरीहरु सुर्तीजन्य पदार्थबाट प्रभावित भएको र कालान्तारमा उनीहरुले लागु पदार्थको सेवन गर्ने गरेको देखिन्छ ।


प्रकाशित मितिः शनिबार, पुस १२, ११:५३