काठमाडौंः नेपाली सेनाले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न गरेको छ ।

हाल विश्वभर प्रकोपको रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर राखी मंगलबार र बुधबार सैनिक मुख्यालय जंगीअड्‍डा परिसरमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा नेपाली सेनाका विभिन्न युनिटमा कार्यरत सैनिकलाई सहभागी गराइएको थियो ।

जंगी अड्डा परिसरमा अस्थायी टेन्टहरु खडा गरी नेपाली सेनाका ५० जना स्वास्थ्यकर्मीहरु तथा विभिन्न युनिटहरुमा कार्यरत १५१ जना गरी जम्मा १८१ जना सकलदर्जालाई कार्यक्रममा सहभागी गराइएको थियो ।

प्रशिक्षण कार्यक्रममा कोरोना भाइरससम्बन्धी जानकारीमूलक कक्षा सञ्चालन गर्नुका साथै क्वारेन्टाइन सेटअप, पानी शुद्धीकरण, फोहोर व्यवस्थापन, विद्युत् व्यवस्थापन, सङ्‍क्रमण नियन्त्रण तथा कोरोना भाइरसविरुद्ध रोकथामका उपायसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान दिइएको सैनिक मुख्यालयले जनाएको छ ।


प्रशिक्षण कार्यक्रममा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार ५४ वटा टेन्ट खडा गरेर ९ वटा क्लस्टरमा विभाजन गरी प्रत्येक टेन्टमा २ जना व्यक्ति रहनेगरी तयार गरिएको थियो । सहभागी प्रशिक्षार्थीले आफू कार्यरत युनिटमा गई कोरोना भाइरससम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरी आवश्यकता बमोजिम स्थानीयस्तरमा क्वारेन्टाइनसम्बन्धी कार्य गर्नसक्ने दक्ष जनशक्ति उत्पादन गर्ने जनाइएको छ ।

नेपाल सरकारको निर्णय बमोजिम कोरोना भाईरस (कोभिड–१९) को उच्च जोखिम विरुद्ध बचाउ तथा रोकथामका लागि उपलब्ध सबै उपायहरु अवलम्बन गर्न नेपाली सेना प्रतिवद्ध रहेको जनाइएको छ ।


प्रकाशित मितिः बिहीबार, चैत ६, ०९:२५