काठमाडौं: संघियता लागु भए सँगै महिला तथा बालबालिका कार्यालय हटाइए पछि बेसहारा र अन्यायमा परेका महिलालाई राख्न समस्या भएको छ । अन्यायमा परेका, बलात्कृत, बेसहारा महिला तथा बालिकालाई राख्ने सुरक्षित स्थलको रुपमा संचालन गरिँदै आएको सेफ हाउस, महिला तथा बालबालिका कार्यालय हटाइएसँगै सेफ हाउसको संरचना पनि हटेको छ ।

सेफ हाउस विस्थापन सँगै प्रहरीलाई बेसहारा महिला तथा बालबालिका राख्न समस्या हुन थालेको छ । हालै मात्र सप्तरीमा प्रहरीले वेवारिसे अवस्थामा फेला परेको एक सुस्त मनस्थितिको महिला फेला पारेको थियो । महिला सुस्त मनस्थितिको भएको हुँदा उनलाई आफ्नो नाम तथा ठेगानाबारे केहि जानकारी नभए पछि विगत दूई हप्ता देखि प्रहरीले उक्त महिलाको परिवार फेला पार्न सकेको छैन ।


। विगत दूई साता देखि उनको हेरचाह प्रहरीले गर्दै आएको छ जसले प्रहरीलाई आफ्नो कार्य गर्न बाधा पुगेको छ ।

यस्ता महिलाहरु पहिला फेला पर्दा सेफ हाउसले संरक्षण दिदैं आएपनि अहिले नहुँदा समस्या भइरहेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयले प्रहरी चौकीमा स्थानको अभाव, हेरविचार गर्ने जनशक्तिको कमि र स्वास्थ्य अवस्थाका कारण महिलालाई राख्न समस्या भएको जनाएको छ । प्रहरीले सेफ हाउस नहुँदा यस्ता महिला तथा बालबालिकाको सम्रक्षण गर्न गाह्रो भएको बताएको छ ।

सेफ हाउस नहुँदा यसरी दिनहुँजसो अलपत्र परेकाहरुलाई कहाँ राख्ने भन्ने कुरा गम्भीर विषय बन्दै गएको छ । अलपत्र अवस्थामा भेटिएकालाई विभिन्न संघसंस्था गुहारेर राख्नुपर्ने बाध्यता रहेको छ । अहिलेसम्म अनाथ, दुर्व्यसनमा फसेका बालबालिका, मानसिक सन्तुलन गुमाएका दिनहुँजसो भेटिने गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई त्यसै छोड्दा कुनै अप्रिय घटना हुन सक्ने डर रहेकोले पनि उनीहरु उचित व्यवस्थापन गर्न आवश्यक रहेको छ । कहिलेकाहीँ बालिका तथा महिलाहरु नै सडकका फुटपाथमा रातको समयमा अलपत्र अवस्थामा भेटिन्छन् । त्यस्तो अवस्थामा उनीहरुमाथि बलात्कार हुन सक्छ । यस्तै कहिले दुर्व्यसनीहरु भेटिन्छ जो चोरीमा संलग्न हुन सक्छन् । यसले समाजमा असुरक्षा बढाउने हुँदा यस्ता महिला तथा बालबालिकाको उचित व्यवस्थापन तथा सुरक्षाका लागि सेफ हाउसको आवश्यकता छ । विशेष गरेर मानसिक असन्तुलन भएका मानिस, आर्थिक अवस्था कमजोर भएकालाई घरपरिवारले बेवास्ता गर्ने र खानलाउन नपाएपछि फुटपाथमा पुग्ने गरेको पाइन्छ ।

सरकारले यस्तो समस्याको व्यवस्थापनका लागि जनसंख्याको आधारमा प्रदेश वा जिल्लालाई केन्द्रित गरेर समस्यामा परेका मनिसको समाधान नहुन्जेलसम्म सुरक्षित रुपमा बस्न सक्ने सुविधासहितको सेफ हाउस बनाउन आवश्यक रहेको छ ।

यस्ता महिला तथा बालबालिकाहरुलाई विभिन्न संघसंस्थाले हालसम्म सहयोग गर्दै आए पनि यसलाई दीर्घकालीनरुपमा समाधान गर्न सरकारी पक्षले नै व्यवस्थित कदम चाल्न जरुरी छ । उचित व्यवस्थापन भएमा अलपत्र अवस्थामा रहेकाहरुलाई उद्धार गर्ने कार्यमा समेत सहयोग पुग्नेछ ।

मयाङ्क घिमिरे