काठमाडौं: फ्रान्समा बनेको इक्वेटर हेलिकप्टरको प्रि–डेलिभर इन्सपेक्सनका लागि फ्रान्स जाने भनिएको सैनिक टोलीको भ्रमण रद्द भएको छ।

हेलिकप्टर खरिद गर्नुअघि इन्जिनियर र पाइलटसहितको सैन्य टोली जेठ पहिलो साता प्रि–डेलिभर इन्सपेक्सनका लागि फ्रान्स जान लागेको थियो। सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले सैन्य टोली फ्रान्स जाने भनिए पनि अन्तिममा भ्रमण रद्द भएको बताए।

सेनाले भने सरकारले पछिल्लो समय विदेश भ्रमणमा गरेको कडाइका कारण उक्त भ्रमण रद्द भएको बताएको छ। नेपालबाट गएको प्राविधिकसहितको टोलीले जाँच गरेर सहमति जनाएपछि उक्त हेलिकप्टर नेपाल ल्याइने सेनाले जनाएको थियो।


०७३ असार १६ मा बसेको मन्त्रिपरिषद् बैठकले सेनालाई एउटा मिडिएम र दुईवटा लाइट हेलिकप्टर खरिद गर्न स्वीकृति दिएको थियो। स्वीकृति दिएका मध्ये दुईवटा लाइट हेलिकप्टर खरिद गर्ने गरी बोलपत्र आह्वान गरे पनि सेनाले एउटामात्र इक्वेडर हेलिकप्टर खरिद गर्ने निर्णय गरेको हो ।  नागरिक दैनिकमा समाचार छ ।