हिन्दु संस्कार अनुसार दिवङ्गत पितृहरूको स्मरणमा श्रद्धा र सम्मान अर्पण गरिने कार्य श्राद्ध हो । कात्यायन स्मृतिमा श्राद्धलाई पितृयज्ञ भनिएको छ। श्राद्ध शब्दलाई विभिन्न तरिकाबाट अर्थ्याए पनि मूलतः पितृहरूलाई श्रद्धापूर्वक सम्झनु र उनीहरूप्रति कृतज्ञता प्रकट गर्नु नै यसको वास्तविक अभीष्ट हो । जीवित हुँदा मातापिताको सेवा गर्नु र मृत्युपश्चात् श्राद्ध गर्नु मानव कर्तव्य मानिएको छ ।

वेदादि आफ्ना शाखाका शास्त्र हरूले बताएका विधि विधानअनुसार आफ्ना पितृहरूका निमित्त गरिने पैतृक कर्म नै श्राद्ध हो । उचित काल, पात्र एवं स्थान अनुसार शास्त्रानुमोदित विधिद्वारा पितृलाई लक्षित गरी श्रद्धापूर्वक ब्राह्मणहरूलाई दान गरिन्छ, भने त्यसैलाई श्राद्ध भनिन्छ।


। सनातन संस्कृतिमा प्रत्येक शुभ कर्मको प्रारम्भमा माता पिता र पूर्वजहरूलाई आदर, सम्मान गर्नु कर्तव्य मानिन्छ । सोह्रश्राद्धपछि बडादशैं सुरु हुने भएकाले र यो नेपाली समाजको विशिष्ट पर्व मानिने हुँदा पनि पितृपक्षमा आफूले गर्ने श्राद्ध गरी पितृहरूलाई सन्तुष्ट तुल्याउनु पर्दछ भन्ने मान्यता पनि छ ।

मन्त्रद्रष्टा ऋषिहरूले वर्षभरिका विभिन्न पक्षमध्ये आश्विन कृष्णपक्षलाई पितृपक्ष भनी उल्लेख गरेकोले  उक्त पक्षको आगमनमा हामी आफ्ना दिवङ्गत पितृ तथा दिव्य पितृहरूलाई श्राद्ध तथा तर्पणादि गर्दछौं । श्राद्ध शब्दको सामान्य अर्थ सत्य प्रतिष्ठित नै हो । श्राद्धकर्ताले श्राद्ध गर्न निश्चय गरिएको दिनभन्दा एक दिन अघिदेखि नै एकभक्तिमा नङकेशादि काटी शुद्ध चित्त भई एक छाकमात्र सात्विक भोजन ग्रहण गरी एकभक्तिमा बसेर श्राद्धको दिन सर्वप्रथम तर्पण दिने प्रचलन छ ।

लालन, पालनार कर्मका खातिर बाबु र आमाले गरेको अथक प्रयास र तिनले लगाएको गुन तिर्न वर्षभरि मरेका पितृहरूका नाममा तर्पण गरिन्छ । देव उपासनामा भावना प्रधान हुन्छ भने पितृ उपासनामा भाषा प्रमुख हुन्छ । त्यसैले श्राद्ध सम्पन्न गर्ने ब्राह्मण सदाचारी, नैष्ठिक र विनम्र हुनु अनिवार्य छ ।

पार्वण श्राद्ध
सूर्य कन्या राशि र उत्तराफाल्गुनी नक्षत्रमा भएको वेला गरिने श्राद्धलाई पार्वण श्राद्ध भनिन्छ । यसलाई महालय श्राद्ध र नेपाली समाजमा सोह्र श्राद्ध पनि भन्ने गरिन्छ । दिवङ्गत सबै पितृमुक्तिको उद्देश्य राखेर पिण्डदान गर्ने पितृपर्व सोह्रश्राद्ध हो । महालय श्राद्धमा खासगरी स्वाहा स्वधा दुबैको आह्वान गरिन्छ । यस श्राद्धमा  विश्वदेव ब्राह्मण र  पितृब्राह्मणको स्थापना गरी स्वाहा र स्वधा दुबै मन्त्रले पूजा गरिन्छ ।

कन्या राशि र उत्तराफाल्गुनी नक्षत्रमा विचरण गरेको समयमा सूर्य र दिव्यपितृ प्रमुख अर्यमाको भेट हुन्छ । अर्यमाका साथमा समस्त मनुष्यपितृहरू पनि सूर्यको समीपमा पुग्दछन् । सूर्यका साथमा असोज महिनाको कृष्णपक्षभरि ती पितृगणले पृथ्वीलोकको भ्रमण गर्दछन् र यस समयमा उनीहरूले आफ्ना वंशजहरूबाट तर्पण र पिण्डको आकाङ्क्षा राखेका हुनाले सम्बन्धित वंशजले श्राद्धादि कर्म गर्नु आवश्यक छ । पार्वण श्राद्ध दिनको उत्तरार्द्ध अर्थात् अपराह्न कालमा गर्नुपर्ने शास्त्रीय विधान छ ।

दिवङ्गत बाबुतर्फका तीनपुस्ता र मावलीतर्फका तीन पुस्ताका लागि छ वटा पिण्ड दिने चलन छ । कुनै समुदाय समाजमा तर्पण गर्ने सबै पितृहरूका लागि छुट्टाछुट्टै पिण्ड पनि दिने चलन पनि छ । यो परम्परा र चलनको कुरो हो, तर वास्तवमा छ वटा पिण्ड दिनु नै विधानसम्मत र उचित हुन्छ ।

मानिस देवऋण, ऋषिऋण र पितृऋणले बाँधिएका हुन्छन् । तर भक्तिपूर्ण श्राद्धकर्म सकेपछि मात्रै पितृ ऋणबाट मुक्ति पाइने विश्वास छ । बन्धुवान्धव, इष्टभित्र, ज्वार्इँ, भान्जा, पुरोहित आदि आमन्त्रण गरिने श्राद्धमा धूम धाम बाजा गाजा राखी घण्टशंख आवाज र भीड भाड भने गर्नु नहुने बताइएको छ । पार्वणश्राद्ध खासगरी अपरान्ह समयमा गरिन्छ । श्राद्धमा तुलसी, भृंगराज, सयपत्री आदि ग्राह्य छन् र केतकी, करवीर, वकुल, कुन्दक र रातो अन्य फूलहरु निषेधित छन् ।
आयुः प्रजां धनं विद्यां स्वर्गं मोक्षं सुखानि च ।
प्रयच्छन्ति तथा राज्यं प्रीताः नृणां पितामहाः ।।


प्रकाशित मितिः शनिबार, भदौ २८, ०५:४९