स्याङजाः आँधिखोला गाउँपालिका–२ मडुवा बस्ने खिमानन्द सापकोटाको ग ४ प ९६३७ नम्बरको स्कुटरमा आगजानी गरेको अभियोगमा एक जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही गाउँपालिका–३ बस्ने २८ वर्षीय रबिन क्षेत्री रहेका छन् ।

पुस १४ गते राति सापकोटाको घर नजिकै पार्किङ गरी राखेको स्कुटरमा आगजानी भएको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न क्षेत्रीलाई पक्राउ गरेको हो ।

उनी माथि आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी मुद्दामा जिल्ला अदालत स्याङजाबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रकाशित मितिः २०७७ साल पुस २७ गते सोमबार, १५:५२