बाँकेः बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक स्कुले बालिका गम्भीर घाइते भएपछि स्थिति तनावग्रस्त भएको छ ।

कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा आज बिहान सवा १० बजेतिर ना २ ख ९४५९ नम्बरको ट्रकले ११ वर्षीया स्कुले बालिका प्रकृति चन्दलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी छिन्। दुर्घटनापछि आक्रोशित स्थानीयले उक्त ट्रकमा आगजनी गरेका छन् । त्यसपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

आक्रोशित समूह र प्रहरीबीच ढुंगा हानाहान भएको थियो । दर्जनौं गाडीहरु बीच सडकमै रोकिँदा यात्रुहरु अलपत्र परेका छन् । सडकमा रोकिएका अधिकांश गाडीहरुको सिसा विद्यार्थीहरुले फुटाइदिएका छन् ।


। उनीहरुले चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पनि पारेका छन् । प्रदर्शनकारीको ढुंगामुढाबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् ।

आक्रोशित भीडले इलाका प्रहरी कार्यालय कोहलपुरमा पनि ढुंगामुढा गरेको छ । भीडलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रुग्यास हानेको छ । प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेको जनाएको छ ।


प्रकाशित मितिः आइतबार, मंसिर २२, १२:११