बाबियाचौरः म्याग्दीको मालिका गाउँपालिका–७ बिमका जनप्रतिनिधि र स्थानियहरुले मदिरा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।

वडा कार्यालयमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, युवा क्लब, आमा समूह र अगुवाको भेलाले विवाह, छेवार, किरियालगायत संस्कारगत कार्य तथा सार्वजनिकस्थलमा जाँड, रक्सीलगायत मदिरालाई प्रतिबन्ध लगाउने निर्णय गरेका हुन् ।

सरोकारवालाको सुझाव र सर्मथनमा भएको निर्णय कार्यान्वयन गरेर बिमलाई विकृतिरहित नमूना वडा बनाउने उद्देश्य स्वरुप यो निर्णय गरिएको हो । भेलाले वडाका सबै बस्तीलाई समेट्ने गरी बिम्वाङ, बिम औल, तल्लोगाउँ, डाँडागाउँ र ढुनोटमा टोल सुधार समिति गठन गरी सामाजिक र विकास निर्माणका कामलाई सहज बनाउने निर्णय समेत गरेको छ ।


यसअघि स्थानीय आमा समूह र युवा क्लबले बिम्बाङ र तल्लो गाउँमा सार्वजनिक कार्यक्रममा मदिरालाई प्रतिबन्ध लगाएको थियो । साँझ ५ बजेभन्दा अघि मदिरा सेवन गर्नेलाई रु एक हजार र बिक्री गर्नेलाई रु दुई हजार जरिवाना तोकिएको हीराजीत स्मृति युवा क्लबले जनाएको छ ।

मदिराको अत्यधिक र अव्यवस्थित प्रयोगका कारण संस्कारगत कार्य महँगो भएको, सामाजिक विकृति बढेको र सुरक्षामा असर परेको ठहर गर्दै मदिरालाई प्रतिबन्ध लगाउने निर्णय भएको हो ।