नेपाल तारा: गतबर्ष असोज महिनादेखि ट्रायल दिएर लाइसेन्स कार्ड लिन कुरिरहेकाहरुको भिड दिन-प्रतिदिन बढिरहेको छ। यातायात व्यवस्था विभागले समयमै लाइसेन्स वितरण गर्न नसक्दा धेरै चालकहरु ट्रायल पास गरेको कागज (चिट) बोकेर हिड्न बाध्य छन् ।

यातायात व्यवस्था विभागले केहि दिन भित्रै स्मार्ट लाइसेन्स वितरण हुने बताउँदै आएको धेरै समय बितिसक्दा पनि वितरण हुन सकेको छैन विभागले वैशाखको पहिलो साताबाटै लाइसन्स वितरण हुने जनाएको थियो । तर वितरण हुने भनेको पनि करिब २ महिना हुन लाग्दा समेत कार्ड वितरण हुन सकेको छैन । विभागका अनुसार पुराना पदाधिकारीहरुले समयमै टेन्डर गराउन नसक्दा यस्तो अवस्था आएको जानेको छ।


विभागका प्रवक्ता तुल्सीराम अर्याल भने,  ‘सायद पहिले रहनुभएका पदाधिकारीहरुले टेन्डर गराउनु भएन, तर हामीहरु आइसकेपछि तत्काल साढे सात लाख कार्ड र ४ वटा प्रिन्टरको नयाँ टेन्डर गरायौं जसमध्ये चार लाख कार्ड बनेर वितरण समेत भैसकेका छन्।’ आउन बाँकी कार्डहरु पनि अब छिटै वितरण गरिने अर्यालले जानकारी गराए।

यातायात व्यवस्था विभागले लाइसेन्स लिनका लागि लिखित परीक्षा पास भएको वा नभएको साथै ट्रायल पास भइसकेपछि पनि आफ्नो स्मार्ट लाइसेन्स कार्ड प्रिन्ट भएको वा नभएको भनेर यसएमयस बाट नै जानकारी लिन सकिने व्यवस्था गरेको छ ।

यातायात व्यवस्था विभागमा कार्यरत (आईटी) इन्जिनियर सन्तोष पोखरेलले भने, ‘यो व्यवस्था लागू भएसँगै सेवाग्राहिले सहज रुपमा आफ्नो लाइसेन्स बारे जानकारी लीन सक्ने छन् भने लाइसेन्सका लागि भनसुन गरेर वा अवैधानिक तवरले लाइसेन्स लिने जस्ता कार्यको समेत पूर्ण रुपमा बन्द हुने छ’।

विभागले शुक्रबार देखि नै लागू हुने गरि यो व्यवस्था ल्याएको हो ।

हालसम्म ४ लाख वितरण, २ लाख २५ हजार बाँकी
यातायात व्यवस्था विभागले हालसम्म ४ लाख कार्ड वितरण गरिसकेको छ भने, २ लाख २५ हजार कार्ड अझै वितरण गर्न बाँकी छन्। अहिले दैनिक ४५ सय देखि ५ हजारको हाराहारीमा स्मार्ट लाइसेन्सको माग रहेको विभागले जनाएको छ। अहिले आएका नयाँ प्रिन्टरले दैनिक ३५ सयकै हाराहारीमा कार्ड छाप्ने हुँदा अब यस्तो समस्या नदोहोरिने समेत विभागले जनाएको छ।

नयाँ कार्डमा चिप्स खस्ने समस्याको सुधार
यातायात व्यवस्था विभागले पहिलो चरणमा वितरण गरेका १ लाख ६० हजार कार्डमा चिप्स खस्ने समस्या देखिएको थियो तर अहिले आइरहेका कार्डमा भने त्यो समस्या नदेखिएको हो। विभागले पछिल्लो समयमा छापेका कार्डलाई अन्तराष्ट्रीय मान्यताअनुसार बाहिर नै पठाएर चेक-जाँच गराएको र सोहि अनुसार गुणस्तरमा सुधार पनि देखिएको अर्यालले जानकारी गराए।

३ महिना भित्र बाँकी सम्पूर्ण कार्ड वितरण हुने
स्मार्ट लाइसेन्स कुरिरहेकाहरुले अबको ३ महिना भित्र लाइसेन्स प्राप्त गर्ने विभागले जनाएको छ। पहिलो चरणमा विगत आठमहिना देखि कुरेर बसिरहेकाले पाउने छन् भने क्रमश: अरुले पाउने छन्। नयाँ ट्रायल पास गरेका बसेकाहरुले र ट्रायल दिंदै गरेकाहरुले पनि निश्चित समय भित्रै लाइसेन्स प्राप्त गर्ने छन् ।

देश छाडेर बाहिर जानेको भने अझ छिटो
विभागले ड्राइभिङ पेसामा तथा नेपाल आर्मी, नेपाल पुलिसबाट मिसनमा बाहिर जानेका लागि भने आवश्यक कागजातका आधारमा अरुलाइ भन्दा छिटो स्मार्ट लाइसेन्स उपलब्ध गराउंदै आएको छ। यदि कोहि ट्रायल पास गरेर बसेको छ र बाहिर जानका लागि लाइसेन्स कुरिरहेको छ भने पनि सम्बन्धित व्यक्तिले यातायात व्यवस्था विभागमा निबेदन दिएर कार्ड लिन सक्नेछन्

के हो स्मार्ट लाइसेन्स कार्ड
स्मार्ट लाइसेन्स एक एटीएमजस्तै कार्ड हो । यसलाई सहज रुपमा आफ्नो पर्समा राख्न सकिन्छ । यो घामले, पानीले र सहजै नभाँचिने किसिमबाट बनाइएको छ । यसमा एक किसिमको चिप्स जोडिएको छ जसको माध्यमले सवारी चालकको सम्पूर्ण परिचय, हस्ताक्षर र अन्य जानकारीहरु पत्ता लगाउनका साथै नक्कली लाइसेन्स बोक्नेहरुलाई पक्राउ गर्न देखि राजश्व सङ्कलन गर्नका लागि समेत धेरै सजिलो बनाउँछ । जसका लागि यस कार्डलाई स्क्यान मात्र गरे पुग्छ।

यसका फाइदाहरु
पानीमा भिज्ने, च्यातिने, अक्षर मेटिने र फोटोकपि बनाउनेलगायत असुरक्षा हटाउन यातायात व्यवस्था विभागले हस्तलिखितको कार्डको साटो स्मार्ट लाइसेन्स वितरण सुरु गरेको हो । गोपनीयताको हिसाबले यो स्मार्ट लाइसेन्स धेरै सुरक्षित मानिएको छ । यो कार्डको आकार अर्को साधारण कार्डको जस्तै हो तर यसलाई लेमिनेसन गरिराख्नु पर्दैन । यो कार्डको वितरण संगै नक्कली लाइसेन्सको बनाउने काम पूर्ण रुपमा बन्द भएको छ । यो कार्ड अर्को साधारण कार्डको भन्दा धेरै टिकाउ र भरपर्दो हुन्छ ।

सरकारी पक्षका लागि पनि फाइदा
यो कार्ड वितरण संगै सरकारी पक्षलाई समेत फाइदा पुग्न गएको छ । सम्पूर्ण तथ्याकं यातायात व्यवस्था विभागको ‘सर्भर र सिंहदरबारमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा राख्न सकिने हिसाबले बनाइएको यो स्मार्ट कार्डका बनाउनका लागि यातायात कार्यालयले नै फोटो खिच्ने लगायतका व्यवस्था मिलाएको छ । यो कार्ड, कारबाहीमा परेका चालकको रेकर्ड राख्न सम्बन्धित निकायहरुका लागि पनि सहज मानिएको छ । विवरण हेर्नकालागि कार्डलाई एक पटक स्क्यान मात्र गरिदिए पुग्छ । कार्ड रिडर मेसिन ट्राफिक प्रहरी र विभागका कर्मचारी दुवैले प्रयोग गर्ने व्यवस्था मिलाइएको छ ।

स्मार्ट कार्ड आयो तर जाँच गर्ने मेसिन आएन
स्मार्ट कार्ड सक्कली हो वा नक्कली हो, साथै सम्पूर्ण बिवरण कार्डमा छन् कि छैनन् भनेर पत्ता लगाउने मेसिन भने आज सम्म आएको छैन । कार्ड रिडर मेसिन ट्राफिक प्रहरी र विभागका कर्मचारी दुवैले प्रयोग गर्ने व्यवस्था मिलाइए पनि मेसिन नहुँदा चालकको कतिपय काम कारबाहिका लागि समस्या समेत परेको ट्राफिक कार्यालय बग्गीखानाले जनाएको छ।

 

लिखित परीक्षा र स्मार्ट कार्ड प्रिन्ट भए नभएको अब यसएमयस (SMS) बाट जानकारी यसरी लिन सकिने छ :

लिखित परीक्षाको जानकारी थाहा पाउन ( WT स्पेस Applicant ID टाइप गरी ३१००३ )

साथै

स्मार्ट कार्ड प्रिन्ट भएको वा नभएको थाहा पाउन ( LC स्पेस Applicant ID टाइप गरी ३१००३ ) मा म्यासेज पठाउनु पर्ने छ ।

 

-आशिष पौडेल