स्याङजाः जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले विभिन्न स्थानबाट खयर तथा सालको काठ सहित ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कालिगण्डकी गाउँपालिका–७ आँधिमुहान बस्ने ४५ वर्षीय डोल प्रसाद भट्टराई, चापाकोट नगरपालिका–८ क्वामी बस्ने टोपलाल न्यौपाने, सोही नगरपालिका–२ बस्ने ३७ वर्षीय शिब प्रसाद रेग्मी र चापाकोट नगरपालिका–२ रानिसेरा बस्ने ४० वर्षीय मोहन भन्ने टिकाराम श्रेष्ठ रहेका छन् ।

पक्राउ परेकामध्ये भट्टराईलाई अवैध खयरको काठ ३ सय गोलिया, न्यौपानेलाई उनकै फर्निचर उद्योगबाट ४४ थान गोलिया सालको काठ र उक्त काठ ल्याउने रेग्मी समेतलाई तथा श्रेष्ठलाई सुकेको सालको गोलिया १० थान, सालको चिरान काठ १० थान र बोक्रा सहितको सालको काठ २३ थान गोलिया सहित पक्राउ गरेको हो ।


भट्टराई, न्यौपाने र रेग्मीलाई शुक्रबार तथा श्रेष्ठलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

बरामद भएको काठ सहित भट्टराई, न्यौपाने र रेग्मीलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय स्याङजा तथा श्रेष्ठलाई सब डिभिजन बन कार्यालय चापाकोटमा बुझाइएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।


प्रकाशित मितिः सोमबार, असार १५, २०७७, १८:२५