काठमाडौंः काठमाडौंको नागार्जुन नगरपालिका–९, स्युचाटारमा आउटडोर फिटनेस पार्क (खुला ब्यायामशाला) सञ्चालनमा आएको छ ।

नागार्जुन नगरपालिकाको सहयोगमा तारकेश्वर युवा क्लबले निर्माण गरेको आउटडोर फिटनेस पार्कको आज पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उद्घाटन गरेका छन् ।

करिब ११ रोपनी क्षेत्रफलमा बालबालिकादेखि जेष्ठ नागरिकसम्मलाई समेट्ने गरी खुला पार्क निर्माण गरिएको तारकेश्वर युवा क्लबका अध्यक्ष सन्तोष बुढाथोकीले जानकारी दिए । ‘नगरवासीलाई स्वस्थ्य बनाउनका लागि पहिलो पटक खुला ब्यायामशालाको अवधारणा ल्याएको हो’, अध्यक्ष बुढाथोकीले भने, ‘बच्चादेखि जेष्ठ नागरिकसम्मलाई स्वस्थ्य राख्ने अभियानअन्तर्गत खुला ब्यायामशालासहितको पार्क निर्माण गरिएको हो ।


।’

पार्कमा आउटडोर ब्यायामशालासँगै मर्निङ वाक ट्रयाक, बाल उद्यान, बहुउद्देश्यीय कभर्डहल, सेभेन ए साइड फुटबल मैदानलगायतका पूर्वाधार निर्माण गरिएको छ ।

फिटनेस पार्कमा ब्यायामका लागि अत्याधुनिक विभिन्न १६ वटा उपकरण जडान गरिएको छ । जहाँ सबै उमेर समूहका मानिसले जुनसुकै समयमा पनि ब्यायाम गर्न सक्ने छन् ।

पार्कको उद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्री सिंहले अहिलेको महामारीको समयमा सामुदायिक पार्क अत्यन्त आवश्यक रहेको औंल्याउँदै सबैलाई स्वस्थ राख्नका लागि नागार्जुन नगरपालिका र तारकेश्वर युवा क्लबले सञ्चालन गरेको अभियानको प्रशंसा पनि गरे ।

सबै नगरवासीलाई स्वस्थ्य राख्नका लागि नेपालमै पहिलो पटक उत्कृष्ट उपकरणसहितको आउटडोर फिटनेस पार्क निर्माण गरिएको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले बताए । उनले पहिलो चरणमा वडा नम्बर ९ बाट सुरु भएको अभियान १० वटै वडामा विस्तार गरिने प्रतिवद्धता जनाए ।

तारकेश्वर युवा क्लबका अध्यक्ष बुढाथोकीले पहिलो चरणमा खुला ब्यायामशाला निर्माण सम्पन्न गरी उद्घाटन गरिएको जनाउँदै यो आर्थिक वर्षभित्र अन्य सबै पूर्वाधार निर्माण सम्पन्न गरिसक्ने जानकारी दिए ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १ शनिबार, २०:२८