काठमाडौंः विश्व वातावरण दिवसको सन्दर्भ पारेर वन तथा वातावरण मन्त्रालयको पहलमा ‘स्वच्छ वातावरण महाअभियान, २०७५’ सुरु भएको छ ।

आजदेखि शुरु भएको स्वच्छ वातावरण महाअभियान सभामुख कृष्णबहादुर महराले काठमाडौंस्थित शंखपार्कको सडकमा कुचो लगाउँदै सुरु गरेका हुन् ।

उक्त अवसरमा सभामुख महराले स्वच्छ वातावरण निर्माणका लागि आफैबाट सरसफाइको शुरुवात गर्नुपर्ने बताए । उनले सरसफाइ आफूबाटै शुरु गरौँ, एक–एक एकाइबाट समूह बन्छ र त्यसले संस्थागत रुप लिन्छ, सबै सरसफाइमा लागेपछि स्वच्छ वातावरण निर्माणको हाम्रो महाअभियान सफल बन्छ भन्ने धारणा समेत राखेका छन् ।

नीति, योजना निर्माण गर्ने तर कार्यान्वयन गर्ने दायित्वबोधबाट पन्छिने हो भने कहिल्यै पनि लक्ष्यमा पुग्न नसकिने बताउँदै महराले योजना कार्यान्वयनमा लागेर अभियान सफल बनाउन सबैसँग आग्रह गरेका छन् ।


कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मानव सरसफाइको जिम्मा सरकारको मात्र नभई आमनागरिकको पनि भएको उल्लेख गर्दै घर बाहिर फोहर फालेर सरकारलाई गाली गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।

मन्त्री बस्नेतले भने, “राजधानीका सडकमा कसैले फोहर फालेमा उक्त फोहर काठमाडौं महानगरपालिकामार्फत सफाइ गरिने र सो कार्यबापतको भुक्तानी फोहर फाल्नेबाट असुल गरिनेछ ।”

मन्त्रालयले काठमाडौं महानगरपालिकासँगको समन्वयमा अघि बढाएको सरसफाइ महाअभियान निरन्तर जारी रहने र सरसफाइका लागि सातामा एक दिन मन्त्री बस्नेत स्वयं उपस्थित हुने जनाइएको छ ।

शंखपार्कबाट सडक छेउको फोहर उठाउँदै शुरु भएको सरसफाइ अभियान विशालनगर चोक हुँदै धुम्बाराही, पीपलबोटबाट पुनः शंखपार्कमा पुगेर समापन गरिएको थियो ।

कार्यक्रममा सभामुख महरा, वन मन्त्री बस्नेत, मन्त्रालयका सचिव, कर्मचारी, सुरक्षाकर्मी, महानगरका कर्मचारीलगायत सर्वसाधारणको सहभागिता रहेको थियो ।