काठमाडौंः विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले स्वतन्त्रतामाथी हस्तक्षेप गर्नु अधिनायकवाद संकेत भएको बताएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आएको समयमा आफ्नो पार्टीले शुक्रबार भद्र विरोध जनाउँदै पार्टी कार्यालयभित्रै ब्यानर राखेको मिश्रले बताएका छन् ।

ललितपुरको बखुण्डोलस्थित पार्टी भवनमा झुण्ड्याइएको ब्यानरमा केबल ‘मोदीजी स्वागत छ। तर, नाकाबन्दी बिर्सेका छैनौं।’ भनि लेखिएको थियो।

पार्टी कार्यालयमा प्रहरीको टोली गएर उक्त ब्यानर पटक-पटक हटाइनुलाई अध्यक्ष मिश्रले  राज्यबाट यस्तो कार्य गरिनु असंवैधानिक कदम भएको बताएका छन् ।


प्रहरीको यस कदमपछि केन्द्रीय समिति बैठकमा सरिक नेताहरूसहितको टोली विरोध जनाउनका लागि ललितपुर जिल्ला प्रशासन कार्यालय पुगेको थियो। मिश्रका अनुसार टोलीलाई कार्यालयभित्र पस्न रोक लगाइयो । एक घन्टा कुराएपछि  सहायक प्रमुख जिल्ला अधिकारी भेट्न तयार भएको मिश्रले बताए ।

टोली त्यसपछि पार्टी कार्यालय फर्किएको थियो। फर्कँदा कार्यालयमा प्रहरी तैनाथ थिए। जिल्ला प्रशासन कार्यालयमा विरोध जनाएर आएको टोलीले फेरि पनि ब्यानर राख्न खोज्दा जतिपटक प्रयास गरियो उति नै पटक प्रहरीले निकालिदिएका थिए।

पार्टी कार्यालयमा राखिएको ब्यानर दुईपटकसम्म प्रहरीले हटाइदिएपछि बेलुनमा ब्यानर राखेर उडाइएको मिश्रले बताए ।

सरकारद्धारा यस्ता क्रियाकलाप गरिनु तथा अभिव्यक्ति स्वतन्त्रतामाथी हस्तक्षेप गर्नु अधिनायकवादको संकेत भएको मिश्रले बताएका छन् ।