काठमाडौं: विश्वकप फुटबल २०१८ अन्तर्गत अन्तिम १६ मा भएको खेलमा  स्विट्जरल्यान्डलाई पराजय गर्दै स्वीडेन क्वाटरफाइनलमा प्रवेश गरेको छ । रसियाको सेन्ट पिटर्सवर्ग रंगशालामा भएको खेलमा स्वेदनले स्विट्जरल्यान्डलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

फोसबर्गले दोस्रो हाफमा गरेको एक मात्र निर्णायक गोलको मद्दतमा स्वीट्जरल्याण्डलाई पराजित गर्दै स्वीडेन १९९४ पछि पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। १९९८ र २००२ को विश्वकपमा छनोट नै हुन नसकेको स्वीडेन २००६ मा अन्तिम १६ बाट बाहिरिएको थियो।  २०१८ विश्वकपको लागि युरोपियन प्लेअफमा ४ पटकको विश्वविजेता इटलीलाई पराजित गर्दै स्वेदन छनोट भएको हो।


स्वीडेनले अब क्वाटरफाइनलमा इंग्ल्याण्ड र कोलम्बियाबीचको विजेतासँग खेल्नेछ। खेलको ६६औँ मिनेटमा फोसवर्गले गरेको गोल खेल जिताउन निर्णयक बन्यो। उनको प्रहार स्वीस गोलकिपरलाई लाग्दै गोल भएको हो।