चितवनः चितवनको कुरिनटारस्थित सिद्धार्थ होटलको स्विमिङ पुलमा डुबेर मनकामना दर्शनका लागि आएका एकजनाको मृत्यु भएको छ ।

होटलमा पौडी खेल्ने क्रममा डुबेर काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका–११ नेपालटारका २६ वर्षीय रामबहादुर बस्नेतको मृत्यु भएको चितवनका प्रहरीले जनाएको छ ।

गएराति करीब ९ बजे नुहाउने क्रममा पानीमा डुबेर बेहोस भएका उनको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरमा उपचारका क्रममा करीब ११ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

परिवारसहित मनकामना दर्शनका लागि आएका उनीहरु साँझ होटलमा बसेर पौडी खेल्न थालेका थिए । उनीहरुको आज बिहान मनकामना दर्शन गर्ने योजना रहेको जनाइएको छ ।