स्थानीय निर्वाचनपछि नेपाल कम्युनिस्ट पार्टी एमाले र एकीकृत माओवादीबीच प्रदेश र संघको निर्वाचनमा सहकार्य गरेर अघि बढ्ने घोषणा गरे । त्यसैबेला यी दुवै पार्टी एकीकरण गरिने पनि पार्टी अध्यक्षहरू केपी ओली र प्रचण्डले घोषणा गरे । यो घोषणापछि निर्वाचनमा यी दुवै पार्टीको गठबन्धनले प्रदेश तथा संघ दुवैमा दुई तिहाइ बहुमत नै ल्यायो । एमाले र एकीकृत माओवादीको निर्वाचनमा भएको सहकार्य त तत्कालको लाभका लागि गरिएको हुनसक्छ । ओली र प्रचण्डले एमाले र माओवादी एक्लाएक्लै निर्वाचनमा जाने हो भने कांग्रेसलाई सके बहुमत नभए ठूलो पार्टी हुनबाट रोक्न सकिंदैन भन्ने राम्रोसँग बुझेका थिए ।


। तसर्थ उनीहरूले यही परिस्थितिलाई ख्याल गरेर सहकार्य गर्न पुगे तर २०४६ देखि नै एक-अर्काका कट्टर विरोधी यी वाम पार्टीको एकीकरण कसरी सम्मभव होला ? आमनागरिकले यसलाई चासोको रूपमा हेरे र अझै पनि त्यो शंका मेटिएको छैन् ।

अझ, एमालेका प्रभावशाली र पछिल्लो कालमा अत्यन्तै महत्वाकांक्षी बन्दै गएका अध्यक्ष ओली र विद्रोहकालको कुशल नेतृत्व, शान्ति प्रक्रिया, पहिलो संविधानसभा निर्वाचनमा पहिलो पार्टी बन्न सफल माओवादीका सर्वाधिक महत्वाकांक्षी नेता प्रचण्ड कसरी एकै पार्टीमा अटाउलान् ? अर्को, पुँजीवादी खुलाबजार अर्थव्यवस्थामा रमाउँदै आएका एमाले कार्यकर्ता पंक्ति, जो एनजीओ, आईएनजीओ हरुमा रमाइरहेको छ, निजी स्कुल, कलेज सञ्चालन, निजी अस्पतालमा ठूलो लगानी गरेर सान र मान कमाइरहेको छ माओवादी चाहनासँग सहकार्य गरेर त्यत्तिकै अघि बढ्न चाहने कुरै भएन। त्यस्तै, युद्दको संस्कारबाट प्रशिक्षित तर शान्ति प्रक्रियायता विभिन्न उद्योगी–व्यापारीको नजिक रहेर चल्न अभ्यस्त भइसकेका माओवादी कार्यकर्ता जो अझै पनि साम्यवादको आकांक्षा राख्छन् र एमाले पंक्तिलाई पुँजीवादी भासमा गएको ठान्छन् कसरी एमालेसँग एक भएर अघि बढ्लान् ? यी दुवै कार्यकर्ता पंक्तिको सोचाइ र चाहना कसरी मेल खाला ? यी दुवै कसरी सँगै रहेर अघि बढ्लान् ? आमनागरिकमा सधैं शंसय रहिरह्यो र अहिले पनि त्यो आशंका हटेको छैन । ।

निर्वाचनपछि पार्टी एकीकरणका लागि दुईवटा एकता संयोजन कार्यदल बनेर निरन्तर खट्नु र दुवै पार्टी अध्यक्षबीच लगातार भइरहेका एकता वार्ताले यी दुई पार्टी एकीकृत हुने नै हुन् कि भन्ने पनि आमनागरिकलाई लागेको छ । यस्तो शंका–आशंका र शीर्ष नेताको वार्ता, प्रतिबद्धता तथा समितिको काम लगातार अघि बढेजस्तो देखिए पनि एकीकरणका अझै पनि अनेकौं अप्ठ्यारा र अनेकौं विमति देखिएका छन् । हुन त चुनाव चिह्न, एकीकरण दस्तावेजमा जनयुद्ध राख्नुपर्ने र अर्को, दुवै पार्टीको आधा-आधा हिस्सेदारी हुनुपर्ने कुरालाई अहिलेको एकीकरण विलम्बको कारक मानिएको छ । यी कुरालाई मुख्य मुद्दा मानिए पनि अन्तर्यमा अन्य अनेकौं अप्ठ्यारा विषयहरूले एकीकरणलाई बाधा पारिरहेको देखिएको छ । सुरुमै दुई अध्यक्षबीच एकजनाले सरकार चलाउने र अर्काले पार्टी चलाउने, अर्को, प्रधानमन्त्री पनि आलोपालो गरी चलाउने सहमति भएको सुनिएको हो । अहिलेसम्म आइपुग्दा ती कुराहरू आधिकारिक रूपमै छलफका विषय भने बनेका छैनन् ।

भर्खरै एकीकृत माओवादीको भ्रातृ संगठन वाईसीएलले पार्टी एकीकरण हुँदा पार्टीमा आधा–आधा हिस्सेदारी हुनुपर्ने र प्रचण्डले अध्यक्ष नपाएसम्म पार्टी एकीकरण नगर्न प्रचण्डलाई दबाब दियो । अर्को, माओवादी नेता–कार्यकर्ताले अहिले माओवादी शिथिल हुँदै गएको, एमाले लगातार पार्टी सुदृढीकरणमा लागेको तर माओवादीमा त्यस्तो हुन नसकेको अवस्थामा पार्टी एकीकरण हुँदा माओवादी पंक्ति कमजोर हुने बताएका छन् । यस्तो अवस्थामा पार्टी एकीकरण हुँदा पार्टी कार्यकर्ताको मनोबल गिर्ने पनि बताइरहेका छन् । यो संशय पनि पार्टी एकीकरणका लागि ठूलो अवरोधको विषय नै हो ।

दुवै पार्टीका नेता–कार्यकर्तामा आफ्नो स्थानको मनोवैज्ञानिक चिन्ता

अहिले निर्वाचनदेखि पार्टी संगठनको अवस्थालाई हेर्दा एमाले सुदृढ देखिएको छ । त्यसको विपरीत माओवादीको व्यवस्थित संगठन भए पनि अलि कमजोर देखिएको छ । अर्को, एमालेका धेरै नेता–कार्यकर्ता पार्टी एकीकरणपछि पार्टी अझ ठूलो बन्दा अर्थात् ठूलो भीड बन्न जाँदा आफ्नो स्थान कहाँ हुने भन्ने कुराको खोजीमा छन् । माओवादीसँग एकीकरणपछि आफ्नो स्थान सुनिश्चित भएन भने एमालेभित्र एकीकरणको खुलेर विरोध हुने निश्चित छ । अहिले पनि कतिपय नेता–कार्यकर्ताले एकीकरणलाई मुख्य चासोको विषय बनाएका छैनन् ।

त्यस्तै, माओवादीमा पनि एकीकरणपछि आफ्नो स्थानका सम्बन्धमा मनोवैज्ञानिक चिन्ता रहेको देखिएको छ । एमालेको बलियो संगठन र अति प्रतिबद्ध नेता–कार्यकर्ताका बीचमा आफ्नो अस्तित्व नै समाप्त हुने हो कि भन्ने माओवादी नेता–कर्तामा मानसिक चिन्ता फैलिएको स्पष्ट हुन्छ । दुवै पार्टी अध्यक्षले जसरी भए पनि पार्टी एकता गरेरै जाने बताएकाले त्यसलाई टार्न त नसकिएला तर जतिसको बार्गेनिङ गर्ने मानसिकतामा माओवादी पंक्ति छ । उनीहरूले यस्तै विभिन्न विषयमा आफ्ना अध्यक्षलाई दबाब दिइरहेका छन् ।

सिद्धान्तमा फरकपना छ कि ?

एमाले र एकीकृत माओवादीको सिद्धान्तमा के फरक छ भनेर हेर्दा वास्तवमा त्यस्तो ठूलो अन्तर देखिन्न । एमालेले जनताको बहुदलीय जनवाद भन्दै आएको छ भने माओवादीले एक्काइसौं शताब्दीको जनवादलाई आफ्नो सिद्धान्तको चुरो मानेको छ । यी दुवैको अन्तर्य फरक छैन र यी पार्टीका सरकार बन्दा भएका आर्थिक क्रियाकलाप सञ्चालनको कार्यव्यवहार प्रक्रियालाई हेर्दा केही पनि अन्तर देखिएन । वास्तवमा दुवै पार्टीले बहुदलीय प्रतिस्पर्धालाई स्वीकारेका छन् । दुवै पार्टीले संसदीय व्यवस्थालाई स्वीकारेका छन् भने खुला अर्थव्यवस्थालाई पनि दुवैले स्वीकारेका छन् । माओवादीले आफ्नो सिद्धान्त फरक बताए पनि चीनमा समेत पूर्ण खुला अर्थतन्त्र चलिरहेकाले त्यसबाट यताउता गरेर अघि बढ्न सक्ने अवस्था छैन । उसले आफ्नो छुट्टै विशेष नीतिका रूपमा जनतासामू ल्याएको पनि छैन । एमाले नेता घनश्याम भुसालले अहिलेको अवस्थाले जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादलाई नाघेर अघि बढेकाले यी दुवैलाई पूरै त्यागेर अब नयाँ रूपमा अघि बढ्नुपर्छ भनेका छन् । उनले अब विश्व परिवेश खुला अर्थव्यवस्था अनुसार अघि बढेकाले नेपाल त्यसबाट पछि फर्कन सम्भव छैन भन्ने ठोकुवा गरेका छन् । सिद्धान्तको यस्तो अवस्था भए पनि एमाले र माओवादी दुवैलाई नेता–कार्यकर्ता स्तरबाट आफ्ना सिद्धान्त नत्याग्न निरन्तर दबाब परिरहेको छ । अर्को, माओवादी केन्द्रलाई वैद्य समूह र विप्लव समूह तथा अन्य आस्थावान् कम्युनिस्टहरूले आफ्नो सिद्धान्त त्यागेर एमालेमा विलय भयो भन्ने चर्को आरोप खेप्न कठिन परिरहेको छ । यसले एकीकरणलाई अलमलमा पारेको स्पष्ट छ ।

दुवै शीर्ष नेताको व्यवहार र व्यवस्थापन

एमाले–माओवादी पार्टी एकीकरणमा अलमल हुनुको अर्को कारण दुवै शीर्ष नेताको व्यवहार र उनीहरूको व्यवस्थापन पनि हो । केपी ओली प्रधानमन्त्री भइसकेका छन्, अब प्रचण्डलाई निःशर्त अध्यक्ष दिनुपर्छ भन्ने माओवादी पंक्तिको धारणा छ । एकीकरण भएपछि प्रचण्डलाई अध्यक्ष दिन हिच्किचाउने हो भने केको एकीकरण ? भन्दै आएका छन् । अर्काे, एमाले ठूलो पार्टी हो, माओवादी उसको नजिक छैन, पार्टीको हैसियत यस्तो बनाउने ओली नै हुन् । यस्तो अवस्थामा केपी ओलीले अध्यक्ष छाड्नै हुँदैन भन्ने एमाले पंक्तिको छ । त्यस्तै, स्थायी सरकार दिन्छौं भनेर जनतासामु गएको गठबन्धन अब प्रधानमन्त्री आलोपालो गर्नु घातक हुने अवस्था पनि आफ्नो ठाउँमा छ ।

केपी ओली नै अध्यक्ष हुने हो भने उनको हठी स्वभावका कारण माओवादी नेता–कार्यकर्ता परपर धकेलिन सक्छन् । त्यसका साथै उचित स्थान र भूमिका पाउन कठिन हुने आशंका माओवादीमा छ भने प्रचण्ड पार्टी अध्यक्ष भएमा उनको स्वभाव अनुसार उनले आफ्ना कार्यकर्तालाई च्यापेर एमालेपंत्तिलाई भूमिका विहीन बनाउने आशंका उमालेभित्र दह्रो छ । अर्को, दुवैपार्टीभित्र आफ्नै पार्टीका अध्यक्ष नै एकीकृत पार्टीका अध्यक्ष बनून भन्ने बलियो धारणा छ । यस्तो अवस्थामा एमाले–माओवादी एकीकरण सरल छैन । अझै कति समय लाग्छ भन्न सकिन्न । एकीकरण भइहाले पनि यी अवस्था जतिबेला पनि विवादका विषय बनिरहने निश्चित छ।

वाम एकता त बाध्यता हो, ढिलोचाँडो हुन सक्ला तर एकीकरणपछि पार्टीलाई कसरी हाँकिएला ? प्रत्येक कार्यकर्ताले समान अवसर पाउने अवस्था सिर्जना गर्न सकिएन भने पार्टी सधैं एक भएर जान सक्ने छैन । आन्तरिक पार्टी व्यवस्थापन सर्वोच्च कम्युनिस्ट केन्द्र अन्तर्गत चल्ला कि लोकतान्त्रिक मूल्यमान्यता अनुसार अघि बढ्ला यो समयले देखाउने छ । वामपन्थीको इतिहासलाई हेर्दा सिद्धान्तमा खासै फरक नभए पनि एकले अर्कालाई पुँजीवादी भासमा भास्सिएको भन्दै गुट–उपगुट सधैं फुटमा रमाउने अहिलेसम्मको वामपन्थीको स्वभाव बन्दै आएको छ । यसलाई रोक्न अहिले पनि त्यति सजिलो छैन । शीर्ष नेता सफल होलान् ?

-भेषराज पोखरेल