ललितपुरः प्रहरीले हत्यामा संलग्न फरार एक अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको गढी गाउँपालिका–१ पिङडाँडाका १९ वर्षीय धने भन्ने आरुष थिङ रहेको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।

ललितपुर महानगरपालिका–९ गुहे पोखरीमा ललितपुरमा मूर्तिको काम गर्ने हरि खड्काको हत्या आरोपी फरार अभियुक्त थिङलाई आइतबार महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले मकवानपुर गढी गाउँपालिका–१ पिङडाँडाबाट पक्राउ गरिएको महाशाखाका प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए ।

गत साउन २८ गते ललितपुर महानगरपालिका–९ गुहे पोखरीमा उदयपुरको कटारी नगरपालिका–२ गरास घर भई ललितपुर बालकुमारी डेरा गरी बस्ने ३३ वर्षीय खड्का मृत अवस्थामा फेला परेको घटनामा मकवापनुरको गढी गाउँपालिका–१ भई ललितपुर महानगरपालिका–९ बस्ने कुमार थिङ भन्ने मानकुमार थिङ, आरुष थिङसहितका व्यक्तिहरुले कुटपिट गरी हत्या गरेको आरोप लागेको थियो ।


थिङलाई आवश्यक कानुनी कारवाहीको लागि जिल्ला अदालत ललितपुर पठाइएको प्रहरी उपरीक्षक सिंहले बताए ।


प्रकाशित मितिः बुधबार, फागुन २८ , ०६:३७