नेपाली महिलाहरुले बडो हर्ष र उल्लासकासाथ मनाउने चाड हरितालिका तीज यसपटक कोरोनाको चपेटामा परेको छ। काठमाडौं उपत्यका लगायत अन्य ४३ भन्दा बढी जिल्लाहरु लकडाउनमा रहेको र नेपालीहरु बसोबास गर्ने बिश्वका अधिकांस मुलुकहरूमा कोरोनाको नयाँ प्रोटोकलका कारण ठुल्ठुला समारोह र जमघट गर्न नपाईने भएपछि समुहमा रमाईलो गरी धुमधामले मनाइने तीज यसपटक प्रतिबन्धित अबस्थामा पुगेको छ र फेसबूक, युट्युब, म्यासेन्जर र जूमबाट भर्चुअल रुपमा नै चित्त बुझाउनु पर्ने बाध्यता आईलागेको छ।

पुरुषको दिर्घायूको कामना गर्दै दिनभरी भोकै प्यासै ब्रत बस्नुपर्ने, पुरुषलाई देबता मानेर पुज्नुपर्ने, पुरुष पहिलो दर्जाको मानिस र महिलालाई दोश्रो दर्जाको मानिस ठान्ने, पुरुष सधैं सर्बश्रेष्ठ हो र महिलाले पुरुषको सेवा गर्नुपर्छ भन्ने महिला बिरोधी मान्यताबाट तिज चाड प्रेरित भएकोले त्यसको बिरोध गर्नु पर्छ भन्नेहरु र त्यही बहानामा पुरुषमाथी खनिनेहरुको गति र मति भने कोरोना प्रकोपका बीच पनि रोकिएको छैन।


। संचारका विभिन्न माध्यम मार्फत तिजको मेसोमा पुरुषलाई गाली गर्दै छापिएका बिभिन्न लेख, टिप्पणी, बिचार र युटुबका बहसहरुले त्यसको पुष्टि गरेको छ।

संस्कृति र परम्पराको नाममा पितृसत्तात्मक समाजले नारी माथी थोपरेको शोषण र दमन हो भनेर तिजको धार्मिक, साँस्कृतिक, सामाजिक तथा साँगितिक महत्वमाथी धावा बोल्ने महिला अधिकारबादीहरुको तीजको सतही ब्याख्या र बिश्लेषण आफैमा अपूर्ण र पूर्वाग्रही देखिन्छ। त्यसैले तीज बास्तवमा हो के र कसरी मनाउने ? तीज महिला अधिकारको पक्षमा छ कि बिपक्षमा ? भन्ने बिषयमा बहस र छलफल हुन जरुरी छ।

धार्मिक कथन र शास्त्रीय प्रमाण अनुसार हिमालय पुत्री पार्वतीले भगवान शिवलाई औधी मन पराउंथिन् तर उनका पिताले भने शिवलाई पटक्कै मन पराउँदैन थिए। पार्वतीको विवाह उनको ईच्छा बिपरित भगवान विष्णुसंग गरिदिने निर्णय गरेपछी पिताको त्यो निर्णय विरुद्ध उनले विद्रोह गरेको देखिन्छ। उनले त्यो बेलाको प्रचलित सामाजिक ब्यबस्था अनुरुप बाबुआमाले रोजिदिएको पुरुषसंग बिबाह नगरेर आफैले रोजेको पुरुषसंग बिबाह गर्न हिम्मत जुटाउनु र घरपरिवार र समाजिक मूल्य मान्यताको विरुद्धमा उभिनु चानचुने कुरा थिएन।

साथी संगिनीको सहयोगमा पिताको गृह त्याग गरेर जंगलमा लुकि बस्ने र शिव पति पाउन निराहार बस्ने पार्बतीको त्यो कदम तात्कालिन समाजिक परिवेशमा निकै ठूलो बिद्रोह थियो। त्यसरी साथी संगिनी मार्फत हरण भएर एकान्तबासमा जाने र आफुले ईच्छाएको ब्यक्तिसंग बिबाह गर्ने पार्बतीको त्यो निर्णय प्रक्रिया र परिघटनालाई नै पछी गएर हरितालिका तीज भन्न थालियो र पर्वको रुपमा मनाउन सुरु गरियो। संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी हुन्छ।                        

पार्वतीले जंगलमै अन्न जल केहि नखाई निराहर बसेपछी उनको त्यो बिद्रोहले सार्थक रुप लियो र उनको बिबाह उनकै ईच्छा मुताबिक शिवसंग भयो। त्यसरी आफ्नो इच्छानुसारको ब्यक्तिसंग विवाह भएकोमा उनी लगायत उनका साथीहरुले त्यो साहसिक कार्य सफल भएकोमा प्रेमको विजयोत्सवको रुपमा मनाएको सो दिन भाद्र शुक्ल तृतियाको दिन थियो। त्यसै बेलादेखि तीज पर्वको थालनी भएको मानिन्छ र त्यसकै निरन्तरता नै आजभोलि मनाईने तीज हो।

तिजको सामाजिक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक पृष्ठभुमिलाई सुक्ष्म रुपमा बिश्लेषण गर्ने हो भने तीज, नारी माथि पुरुषले थोपरेको वा पितृसत्ताले लादेको संस्कृतिको रुपमा बुझ्नु गलत हुनेछ। तीज बास्तवमा नारीले पितृसत्ता विरुद्ध गरेको बिद्रोहको बिजय गाथा हो। बाबुआमाले रोजिदिएको होईन, आफुले ईच्छाएको वर पाउनु पर्छ भन्ने माग पूरा गर्न नारीले गरेको भोक हडताल र सत्याग्रहको एउटा सफल र अनुकरणीय राजनीतिक अभियान पनि हो।

 डलरको खेति गर्न पल्किएका र पश्चिमा एनजिओ र आईएनजिओको पछी लागेर हाम्रो मौलिक संस्कृति र परम्पराको बिरोध गर्दै हिंडेका स्वनामधारी महिला अधिकारकर्मीहरुले गरेको तिजको बिरोधको कुनै तुक छैन। पश्चिमाले मनाउने  “भ्यालेन्टाईन डे” लाई  महान देख्ने र “प्रेम दिवस” मान्नेहरुले पार्बतीले गरेको सामाजिक बिद्रोह र सफल प्रेम कथाको महोत्सव “तिज पर्व” लाई पितृसत्ताबादी देख्नु र पुरुषले महिलामाथी थोपरेको संस्कृति ठान्नु गलत हो। नारी भित्रका आवाजलाई बाहिर निकाल्न साहस दिलाउने यो चाडले नारी संघर्ष र नारी स्वतन्त्रताको वकालत गर्दछ र पार्बतीले सत्ययुगमा प्राप्त गरेको त्यो विजय गाथाको स्मरण गराउँदछ।                      

सुरुका दिनमा तीज, नारी संघर्षको प्रतिमुर्तिका रुपमा मानिदै आएको र पार्वतीको त्याग, तपस्या र महत्वलाई आत्मसात गर्दै मनाउने गरिएकोमा कालान्तरमा विवाहित महिलाले पतिको दीर्घायू र अविवाहित महिलाले सुयोग्य वरको कामना गर्दै ब्रत बस्ने प्रचलन स्थापित हुन पुगेको हो। तीजमा बिशेष गरी बिवाहित महिलाहरु आफनो श्रीमान्, बालबच्चा, परिवार र स्वयम् आफ्नो सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बस्ने गर्छन्।

त्यसैले श्रीमानको दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बस्नु महिलामाथी थोपरिएको दासता र अत्याचार हो भनेर एकोहोरो प्रचार गर्नु गलत हो। त्यसमाथि बिबाहिता पत्नीले आफ्नो पतिको दीर्घायुको निम्ति निराहार बस्दा त्यसको बिरोध किन ? के त्यसो भए बिबाहिता पत्नीले आफ्नो पतिको नाममा व्रत नराखेर अरु कसैको नाममा व्रत बस्नु पर्ने हो त ?                             

साँस्कृतिक दृष्टिकोण अनुसार तीज भनेको नारीहरुको सौभाग्य र समृद्धिका निम्ति शिव र पार्वतीको उपासना र पुजा गर्ने पर्व हो भने सामाजिक रुपमा विवाह भएर टाढा गएकी चेलीलाई माइतमा ल्याएर दरका रुपमा मिठो – मसिनो खान र राम्रो लगाउन दिई पराई घरमा भएका अन्याय अत्याचार ज्यादतीलाई गीत मार्फत भण्डाफोर गर्ने संस्कृति बोकेको सामाजिक उत्पिडन विरुद्धको मुक्ती पर्व पनि हो। तीजले महिलाहरुलाई घरको विभिन्न जिम्मेवारी र तनावबाट केहि समयकालागी नै भएतापनी छुटकारा दिलाउने र आफ्नो  माईती र साथी संगिनीसंग समय बिताउने अवसर जुटाएको हुन्छ।                        

पछिल्लो समयमा रुढिबादी परम्परागत सामन्ती मान्यताको बिरोध गर्ने नाममा पूजिंबादी उपभोक्ताबादी संस्कृतिले तिजलाई नराम्रोसंग जकडिरहेको छ । जसको नकारात्मक परिणाम स्वरुप थुप्रै बिकृतिहरु आज हामीले भोगीरहेका छौं । तीज नारीहरु बीच  सामाजिक र आर्थिक प्रतिष्ठा प्रदर्शन गर्ने माध्यम बन्दै गर्दा तीज मनाउन खोज्ने तर हैसियत नपुग्ने नेपाली महिला दिदी बहिनीहरुको स्थिति अत्यन्तै दारुण अबस्थामा पुगेको छ।

तीज आउनु भन्दा एक महिना अघिदेखि नै होटेल र पार्टी प्यालेसमा जम्मा भएर दर खाने आधुनिक  प्रचलनले तिजको मानमर्दन मात्र भएको छैन समाजमा हुने खाने र हुँदा खाने महिलाहरु बीच ठूलो दरार पैदा गरेको छ। दर खाने नाममा संभ्रान्त र हुने खाने महिलाहरुले महंगा गरगहना र साडी प्रदर्शन गर्दै चाडलाई फेशन र सामाजिक प्रतिष्ठाको रुपमा अस्वस्थ प्रतिस्पर्धा गर्न थालेपछि तीज अचेल धनि र गरिवबीचको दुरी मापन गर्ने यन्त्रका रुपमा विकसित र बिकृत हुँदै गएको छ। हुनेखानेको त्यस्तो भड्किलो रवाफ र पर्व मनाउने शैली र हर्कतले धन नभएका श्रमजीवी नारीहरु कत्ति बिरक्तिदा हुन् ? के त्यसको हेक्का तीजको मेलोमा पुरुषको खेदो खन्ने ध्याउन्नमा लागेका महिला अधिकारकर्मीहरुले राख्न भ्याएका छ्न् ?

एकथरी नारी तीजका नाममा एक महिना अघिदेखि दर खाएर नाचेको नाच्यै गर्ने अनि अर्को थरी बिहान बेलुकाको छाक टार्न  गिटी कुट्ने, ढुंगा, बालुवा, इट्टा बोकर, घाँस दाउरा, ज्याला मजदुरी गर्नु पर्ने जुन बिभेद समाजमा देखिएको छ त्यसमा पुरुषलाई मात्र दोष दिएर उम्कन मिल्दैन। पुरुषलाई सत्तो सराप गरेपछि महिला अधिकार प्राप्ति हुन्छ भन्ठान्ने डलरबादी महिला अधिकारबादीहरुको घैंटामा घाम लाग्न जरुरी छ।

तीज पुरुषले महिलामाथी थोपरेको सामन्ती संस्कृति हो भनेर अनर्गल प्रचारबाजी गर्दै भाषण ठोक्ने र मिडियामा विचार सम्प्रेषण गर्ने ती महिलावादी नेतृ तथा एनजिओ आइएनजिओका डलरधारीहरुले तीजलाई बिक्रित नतुल्याऔं र भड्किलो र प्रदर्शनमुखी नबनाऔँ भनेर सचेतनाका स्वर र आवजहरु उराल्न किन सक्दैनन् ? किन चाहदैनन् ?                             

जहाँसम्म तीजमा ब्रत बस्ने बिधिलाई लिएर सवाल उठाउने गरिएको छ, त्यसमा सबै नारीले पार्वतिले जस्तै गरी निराहार व्रत बस्नुपर्छ भन्ने कुनै किसिमको धार्मिक र शास्त्रीय अनिवार्यता छैन। त्यसैले व्रत बस्न चाहनेले आफ्नो ईच्छा अनुसार निराहार, जलाहार र फलाहार कुनै पनि किसिमको व्रत बस्न सक्ने हुनाले त्यसमा पुरुषलाई दोष दिनुको कुनै अर्थ छैन। शरीर सुडोल बनाउन डायटीङ र फास्टीङ गर्दा आधुनिक हुने पढेलेखेका संभ्रान्त नारीहरुले एक दिन निराहार व्रत बस्दैमा त्यत्रो आपत्ति जनाउनु र रोईलो गर्दै हिड्नु अलि नसुहाउने विषय हो।

 हिजोआज तीज भड्किलो र उताउलो हुँदैछ। आधुनिकीकरण र पश्चिमाकरणको दलदलमा फस्दै गएर यसको धार्मिक र सास्कृतिक महिमा नै ओझेल पर्ने र मौलिकता नै हराउने पो हो कि भन्ने स्थिति पैदा भएको छ। तीजको परम्परागत ब्यञ्जन र परिकारयुक्त दरको ठाउँ अचेल पाचतारे होटल र ठूलाठूला पार्टी प्यालेसका आधुनिक मेन्यु र सुरा र मदिराको बोत्तलले ओगटेको छ। सुखदुःख र प्रेमभावका तीज गीत अचेल गाईजात्रे, भद्दा र उत्ताउलो बन्दै गएको छ। फलस्वरूप तीजको परम्परागत मान्यता र मौलिक रितिथिति कुरीति तर्फ लम्किएको छ । त्यसैले सभ्य र भब्य तीज आजको आवश्यकता हो।

  • मदन बस्नेत, सुर्यबिनायक, भक्तपुर

प्रकाशित मितिः शुक्रबार, भदौ ५, २०७७, १०:१३