काठमाडौंः हरिसिद्धि फुटसलले विपिन शर्मा स्मृति खुला फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

स्वयम्भूस्थित द एक्सेल्सियर स्कुलमा भएको प्रतियोगिताको फाइनलमा हरिसिद्धिले इभ भिजलाई ४–० ले पराजित गरि उपाधि जितेको हो ।

हरिसिद्धिका लागि सन्दिप कार्कीले २ तथा रन्जित गुरुङ र प्रवेश जोशीले १–१ गोल गरे ।

उपाधिसँगै हरिसिद्धिले ७५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार हात पार्‍यो भने इभ भिजले ३५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझायो ।

साहस स्पोर्ट्सद्वारा आयोजित प्रतियोगितामा हरिसिद्धिका सन्दिप कार्की उत्कृष्ट खेलाडी घोषित भए । हरिसिद्धिका धीरज तामाङ उत्कृष्ट गोलरक्षक चुनिए ।


। उत्कृष्टद्वयले जनही २ हजार ५ सय नगद पुरस्कार हात पारे । नेपाल आयल निगम अनुशासित टिम ठहरियो ।

विजेतालाई नेपाल ओलिम्पक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, काठमाडौं महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोल, एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजक, स्वयम्भू क्लबका अध्यक्ष श्याम लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा ३२ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिता स्वयम्भू क्लबका पूर्व फुटबल खेलाडी विपिन शर्माको परिवारका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले गरिएको हो । प्रतियोगिता संयोजक महेश मल्ल ठकुरी र सह–संयोजक सन्तोष न्यौपानेले स्व. शर्माकी आमालाई एक लाख नगद सहयोग स्वरुप प्रदान गरे ।


प्रकाशित मितिः २०७७ साल फागुन १२ गते बुधबार, १४:३६