मोरङ: अाचार्य श्रीनिवासलाई बुधबार पुर्पक्षका लागि जेल चलान गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासले हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ को (क) बमोजिम पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेपछि उनलाई झुम्का कारागार पठाइएको हो ।

आफैंलाई गोली हान्न लगाएर हिन्दुराज्य स्थापनाका लागि आन्दोलन गराउन असफल प्रयास गरेको अभियोगमा उनी पक्राउ परेका थिए।
यस्तै, आचार्यलाई गोली हान्ने उनकै अंगरक्षक चितवन भरतपुर महानगरपालिका बेलचोकका २९ वर्षीय रोशन भन्ने माधव चौधरी र गोली र पेस्तोलको व्यवस्थापन गर्ने नवलपरासीको गैंडाकोट नगरपालिका–५ का ३२ वर्षीय खान र सन्तोष भन्ने लक्ष्मीराज अधिकारीलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।
जिल्ला न्यायधीश नवराज दाहालको इजलासले मुलुकी ऐनको अदालती बन्दोबस्तको ११८ को दफा २ अनुसार चौधरी र अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको हो।
आचार्यको पक्षमा जिल्ला प्रशासनमा अधिवक्ता उद्धवचन्द्र घिमिरेले बहस गरेका थिए भने चौधरी र अधिकारीको पक्षमा वरिष्ठ अधिवक्ता हेमराज पराजुली, अधिवक्ताद्वय मोहन कोइराला र जनकबहादुर पुरीले बहस गरेका थिए। सरकारको तर्फबाट जिल्ला न्यायधिवक्ता पुण्यप्रसाद पाठकले बहस गरेको थिए।