काठमाडौंः नेपलमा सर्वसाधारणले उपभोग गर्ने खाद्यपदार्थ कति सुरक्षित होला ? नेपाल कृषि प्रधान देश भएकाले गाउँले खाद्यपदार्थ उत्पादन गर्छ । कृषि उत्पदन ताजा र स्वस्थकर होला भन्ने सबैले विश्वास गर्छन् । सहरमा पनि ग्रामीण कृषि क्षेत्रले आपूर्ति पर्ने हुँदा गुणस्तरीय नै होला भन्ने मान्यता राखिन्छ । यस्तो मान्यता रहे पनि नेपालमा प्रायः सबै उपभोग्य सामग्री अत्यन्तै गुणस्तरहीन तथा हानिकारक रसायन प्रयोग गरेको पाइएका छन् । साना बालबालिकाका साथै प्रायः सबै उमेर समूहका व्यक्तिका लागि अति आवश्यक मानिने दूधमा स्वास्थ्यका लागि अत्यन्तै हानिकारक रासायनिक पदार्थ मिमाएर बजारमा बेचिएको पाइएको छ ।


दूधमा पाइएको अखाद्यपदार्थलाई देखेर कृषिमन्त्रीले ‘यस्तो पनि राज्य हुन्छ ? देशै होइन जस्तो भएको छ’ भनेका छन् । हालै कृषि, भूमिसुधार तथा सहकारी मन्त्रालयले गरेको अनुगमनमा यस्तो देखिएको हो । अहिले काठमाडौंमा सञ्चालित २५ डेरीका ४२ ब्रान्डमध्ये ४० वटा ब्रान्डका दूध स्वस्थका लागि अत्यन्तै हानिकारक कास्टिक सोडाका साथै युरिया, चिनी र नुनसमेत प्रयो गरेको पाइएको छ ।

किन मिसाइन्छ दूधमा अत्यधिक रसायन

नेपालमा दूध संकलन हुने चिस्यान केन्द्र, सहकारी केन्द्र, ठेकेदार हुँदै प्रशोधन उद्योगले दुधलाई फट्न नदिन अथवा दूधमा बन्ने अम्लीयपन हटाएर दूधलाई फाट्नबाट रोक्न सोडियम बाइकार्बोनेट, सोडियम हाइड्रो अक्साइड (कास्टिक), सोडियम कार्बोनेटमध्ये कुनै पनि पदार्थ मिलाउने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्र कार्यालयको परीक्षणबाट फेला परेको छ । कृषि, भूमिसुधार तथा सहकारी मन्त्रालयले बुधबार सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको छ । यस्तो मिसावट गर्ने डेरीमा सरकार सञ्चालित दुग्ध विकास संस्थन पनि परेको छ । मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सोडा मिसावट गर्ने डेरी उद्योगमा दुग्ध विकास संस्थान (डीडीसी) बालाजु, चौधरी डेलिसियस, काठमाडौं, गल्फु विनायक डेरी काभ्रे, आकृति दुग्ध तथा कृषि बालकोट, जय श्रीकृष्ण डेरी काभ्रे, भक्तपुर डेरी भक्तपुर, हिमालय डेरी प्रोडक्ट, लगनखेल र जगदम्बा डेरी फुड एन्ड बेभरेज भक्तपुर छन्। यस्तै, खरीपाटी डेरी भक्तपुर, एचडी मिल्क एन्ड बेभेरेज, काठमाडौं, कालिका डेरी भक्तपुर, कान्तिपुर फ्रेस र सैंजु डेरी भक्तपुर, नवप्रभात डेरी, ललितपुर (गोदावरी), नेपाल डेरी (एन्डिज) धापाखेल, नोभा र कन्ट्री फुड प्रालि भक्तपुर र राजधानी डेरी काठमाडौंले पनि सोडा मिसाएको नमुना परीक्षणमा देखिएको हो।

सफल र सुजल डेरी थानकोट, सञ्जीवनी डेरी उद्योग भक्तपुर, शिवम डेरी भक्तपुर, सीताराम डेरी कीर्तिपुर, सामूहिक कृषि डेरी बालाजु, हिमालयन डेरी प्रडक्ट्स लगनखेल, तुलसा डेरी काठमाडौं र संयुक्त डेरी पाटनका दूधमा पनि सोडा भेटिएको प्रतिवेदनमा उल्लेख छ। यो मात्र होइन दूधमा स्वाथ्यका लागि हानिकारक जीवाणु पनि पटकपटक फेला पर्ने गरेको पाइएको छ । अब दूधको जैविक अवस्थाका बारेमा पनि अध्ययन गरिने मन्त्रालयले जनाएको छ । यी डेरी उद्योगका उत्पादनमा तोकिएको मात्रामा चिल्लोपदार्थ (फ्याट) पनि नपाइएको
बताइएको छ ।

दूधको मिसावट हुने रासायनिक तथा जैविक पदार्थबाट हुने हानि

दूधमा न्यूट्रिलाइजरका रूपमा मिलाइने विभिन्न प्रकारका सोडाहरूले स्वास्थ्यमा गम्भीर असर पार्छ । यसले पाचन प्रणलीमा गम्भीर असर गर्छ । यस्ता पदार्थ सेवन गर्दा मिर्गौलामा असर गर्न सक्छ । लगातार यस्ता पदार्थ सेवन गर्दा मिर्गौलाले काम गर्न सक्दैन । त्यस्तै। यी पदार्थको सेवनबाट मुटुमा पनि असर पुग्न जान्छ भने मानव मस्तिष्कमा पनि यसले असर गर्छ ।

दूध प्रशोधनमा ध्यान नदिंदा त्यसमा विभिन्न हानिकारक जीवाणुबाट मानव स्वास्थ्यमा गम्भीर असर पार्छ । त्यस्तो दूध सेवन गर्नाले हैजा, झाडापखाला तथा अन्य विभिन्न रोगको संक्रमण हुने खतरा हुन्छ ।

अन्य खाद्यपदार्थमा गरिने रासायनिक पदार्थ

अरू खाद्यपर्थामा पनि मिसावट तथा हानिकारक रसायन प्रयोग गरिंदै आएको छ । पटक–पटकको अध्ययनले यस्तो देखाएको छ । बजारमा आकर्षक देखिने र नेपालीले मनपराउने आँप पाक्ने सिजनभन्दा छिटै बजारमा आउने गरेको छ । ती आँप पकाउन स्वास्थ्यमा अत्यन्तै हानिकारक कार्बाइड प्रयोग गरिन्छ । यस्तो पदार्थ प्रयोग गरेपछि आँप पाक्नुका सार्थ आकर्षक देखिन्छ । त्यस्तै, केरा पकाउन पनि यही कार्बाइड प्रयोग गरिन्छ । कार्बाइड प्रयोग गर्ने हो भने पाक्ने समय नभएको केरा पनि एकै रातमा पाक्ने गर्छ ।

नेपालमा ताजा देखिने माछामा पनि स्वास्थ्यलाई हानिकारक रसायन प्रयोग गरिन्छ । माछालाई तजा राख्न फर्मालिन भन्ने अल्कोहलिक रसायन प्रयोग गरिन्छ । यो पदार्थ पनि स्वास्थ्यका लागि ज्यादै हानिकारक छ ।

नेपालमा कृषिजन्य पदार्थ उत्पादन गर्दा रोग–कीरा नियन्त्रण गर्न अत्यन्तै धेरै कीटनाशक रसायन प्रयोग गरिन्छ । यसले स्वास्थ्यमा अत्यन्तै प्रतिकूल असर गर्छ । सागलाई हरियो बनाउन, प्रवरजस्ता तरकारी ताजा राख्न पनि विभिन्न रसायनको प्रयोग गरिएको पाइएको छ ।

सरकारको अहिलेसम्मको पहल

अहिलेसम्मको अवस्थालाई हेर्दा यो क्षेत्रमा सरकारको सक्रियता अत्यन्तै सुस्त देखिन्छ । समय–समयमा खाद्यपदार्थमा प्रयोग गरिने हानिकारक रसायन भेटिए पनि त्यसको निराकरणका लागि हरसमय सजग भएको देखिन्न । त्यस्ता पदार्थ भेटिन्छन्, सरकार सचेत गराउँछ, छाड्छ गर्दै आएको छ । अहिलेको घटनाले सरकारलाई पुनः सचेत गराएको देखिएको छ । मन्त्रालयले अनुगमन कार्यलाई अभियानका रूपमा सञ्चालन गरिने बताएको छ । मन्त्रालयले यससम्बन्धी नयाँ कार्यविधि मापदण्ड तयार गरेर अघि बढ्ने पनि बताएको छ ।

उपभोक्ताले के गर्ने ?

खाद्यपदार्थमा हुने रासायकि पदार्थको प्रयोगलाई सीधै देख्न सक्ने अवस्था हुन्न तसर्थ थोरै शंका लाग्दा वा फरक महसुस हुँदा सरकारी निकायमा खबर गरिहाल्ने र त्यसको गुणस्तर जाँच्न दबाब दिने । शंका लागेका पदार्थ प्रयोग गर्न छाड्ने । तरकारी तथा फलफूल राम्रो र सर्लक्क देखिने मात्रै उचित हो भन्ने नसोच्ने । दाग लागेका र आकर्षक नलाग्ने वस्तु पनि गुणस्तरीय हुन्छन् भन्ने मान्ने । सबैभन्दा ठूलो कुरा सधै सचेत रहने र सम्बन्धित निकायलाई सचेत गरिरहने नै उपयुक्त उपाय हुन सक्छ ।