काठमाडौंः सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपनेता तथा सांसद सुवासचन्द्र नेम्वाङले सरकारले ऐतिहासिक काम गरेको बताएक छन् ।

बिहीबार प्रतिनिधिसभा संसदमा बोल्दै नेम्वाङले संविधानअनुसार नै सरकार अघि बढेको र उल्लेख्य कामहरु गरेको भन्दै यस्ते बताएका हुन् ।

कानुनी राज्यको अवधारणाअनुसार समाजवाद उन्मुख र समृद्ध राष्ट्र बनाउन सरकारले काम गरिरहेको बताउँदै उनले भने, ‘संविधान कार्यान्वयनका लागि थुप्रै काम भइसकेको छन् । अलिकति पनि निराश हुनुपर्ने ठाउँ छैन । हामीले राम्रो काम गरेका छौं । ऐतिहासिक काम गरेका छौं । कहीँकतै कमीकमजोरी छन् भने सच्याएर अघि बढ्न हामी तयार छौं ।


।’

हामीले संविधानमै प्रेस स्वतन्त्रता लेखेको र कानुनी राज्यको अवधारणालाई समेट्दै समाजवाद उन्मुख र समृद्ध राष्ट्र बनाउने दिशामा रहेको भन्दै नेम्वाङले प्रतिपक्षी दलले भनेको जस्तो अवस्था नरहेको समेत स्पष्ट पारे । सहमतिको आधारमा अघि बढ्नुको अर्को विकल्प नभएको र अब परिवर्तनका लागि कसैले सशस्त्र आन्दोलन गर्न नपर्ने र संविधानमै टेकेर परिवर्तन गर्न सकिने उनको भनाइ थियो ।

उनले सदन अवरूद्ध नहुने चाहना सबैको भए पनि यो अधिवेशन पनि अवरूद्ध भएको भन्दै संसद सधैं चलोस् भन्ने चाहना हुँदाहुँदै कहिलेकाही अवरूद्ध भए पनि छलफलबाटै समाधान गरिएको बताए। उनले भने, ‘संवाद र सहमतिबाट हामी टुंगोमा पुगेका छौं, संसद अवरोधतिर जान पर्ने दिन नआओस् भन्ने दिशातिर नै हामीले काम गरिराखेका छौं।’


प्रकाशित मितिः बिहीबार, असोज २, १६:१३