काठमाडौंः गृह मन्त्रालय सचिवस्तरको जेठ ३२ गतेको निर्णयअनुसार प्रहरी नायब निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले उक्त निर्णय अनुसार पदोन्नति भएका ७३ जनामध्ये ४१ जना प्रहरी निरीक्षकहरुलाई सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पश्चात सांगठनिक जिम्मेवारी थपिएकोले प्राप्त जिम्मेवारी एवम् संगठनको उद्देश्य पूरा गर्न आफ्नो ज्ञान, सीप, अनुभव तथा कार्यदक्षता प्रदर्शन गरी उच्च मनोबलकासाथ उत्कृष्ट काम गर्न निर्देशन दिए ।


नेपाल प्रहरीको सक्रिय सदस्यको रुपमा फिल्डमा खटि आर्जन गरेको सिप, दक्षता र कार्यकौशलता लगायतको मुल्याङ्कन गरी पदोन्नति गरिएको उनले चर्चा गरे ।

देश र जनताप्रतिको कर्तव्य बोधमा कहिल्यै पनि विचलित नभई आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले जस्तोसुकै चुनौति एवम् विषम परिस्थितिमा पनि प्रहरी कर्मचारीहरुले आवश्यक संयमता अपनाई राज्यले सुम्पिएको जिम्मेवारी निर्वाह हुने विश्वास लिएको र सोही अनुरुप परिचालित हुनुपर्ने बताए । प्रहरी कर्मचारीहरु जहिले पनि व्यवसायिक निष्ठा र कर्तव्यबोधमा केन्द्रीत हुनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा पदोन्नति भएका अधिकृतहरुको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्रहरी निरीक्षक गणेश राज उप्रेतीले संगठनले अंगिकार गरेको नीति अनुरुप दृढ, व्यवसायिक एवम् कुशलतापूर्वक प्राप्त जिम्मेवारीलाई पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

पदोन्नति भएकामध्ये २ जना संयुक्त राष्ट्र संघीय मिसनमा तथा ३० जना उपत्यका बाहिर कार्यरत रहेकोले सम्बन्धित कार्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ ।


प्रकाशित मितिः सोमबार, असार १, २०७७, २०:०३