काठमाडौंः विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले एरोसोल भनिने हावामा रहने साना कणमार्फत् कोरोनाभाइरस फैलन सक्ने प्रमाण जुट्दै गरेको स्वीकार गरेको छ ।

यसअघि ३२ देशका २३९ बैज्ञानिकहरुले हावाबाट कोरोना सर्ने प्रमाण पेस गर्ने र त्यसमा डब्ल्युएचओले आफ्नो मापदण्ड परिवर्तन गर्नुपर्ने बताउँदा त्यसलाई अस्वीकार गरेको डब्ल्युएचओले अहिले भने हावाबाट पनि कोरोना भाइरस सर्ने प्रमाण फेला पारेको जनाएको हो ।

डब्लुएचओकी वरिष्ठ अधिकारी बेनेडेटा आलेग्रान्जीले भिड भएको स्थल, बन्द कोठा वा हावा ओहोरदोहोर गर्ने अवस्था नभएका ठाउँमा हावाबाट संक्रमण सर्दैन भन्न नसकिने बताएकी छन् ।


ूतर यसको पक्का प्रमाण जुटाउन र बुझ्न अझै जरुरी छ । यो काम हामी जारी राख्छौँ,ू उनले बताइन् ।

सोमबार २३९ वैज्ञानिकले डब्लुएचओलाई हावाबाट संक्रमण सर्न सक्ने खतरालाई कम आँकेको भन्दै एक खुलापत्र लेखेका थिए ।

यदि यो चेतावनी पुष्टि भएको खण्डमा कोरोना भाइरस संक्रमण रोकथाम बारेका निर्देशिका परिवर्तन गर्नुपर्ने हुन्छ ।

त्यसमा मास्कको प्रयोग व्यापक गर्नुपर्ने तथा सार्वजनिक यातायात एवम् बारजस्ता भिड हुने स्थानमा सामाजिक दूरीको कडिकडाउ पालना गर्नुपर्ने हुन्छ ।

हाल विश्व स्वास्थ्य संगठनले सार्स–कोभिड–२ (कोरोना) भाइरस मुख्यरुपमा संक्रमित व्यक्तिको मुखबाट निस्किने थुकका साना छिटाबाट सर्ने बताउँदै आएको छ । त्यसैले डब्ल्यूएचओले एक–अर्काबीच कम्तिमा ३।३ फुटको दुरीमा रहन र मास्क लगाउन सुझाव दिँदै आएको छ । यदि हावाको माध्यमबाट कोरोना संक्रमण फैलिने कुरा औपचारिक रुपमा पुष्टि भएमा व्यक्तिगत दुरीको नियम परिवर्तन गर्नुपर्ने हुन्छ ।


प्रकाशित मितिः बुधबार, असार २४, २०७७, ११:३९