रामले रावण मारेको दिनलाई लक्षित गरेर विजयको रुपमा निधारमा टीका लगाइन्छ । यो दिनलाई दशैं भनिन्छ । हिन्दु धर्म ज्ञानको केन्द्र निधारमा विन्दु अर्थात् ज्योति विम्बित गर्ने परम्पराबाट सुरु भएको हो । हिन्दु धर्मका हरेक क्रियाकलाप ज्ञान विजयमा आधारित छन् । ज्ञान जीवनको ज्योति हो, त्यो ज्योति निधार र आँखाको बीचबाट प्रस्फुटन हुन्छ भन्ने मान्यतामा शक्तिको केन्द्र निधारलाई मानेर हरेक शुभकार्यको प्रारम्भमा निधारमा टीका लगाइन्थ्यो । त्यो टीकालाई संस्कृतमा विन्दु भनिन्थ्यो । बस्ने ठाउँ सिन्धु र जीवनको लक्ष्य ज्योतिको विम्ब विन्दु कालान्तरमा अपभ्रंश भएर हिन्दु भन्न थालिएको हो ।


त्यसैले हिन्दु धर्मका हरेक क्रियाकलाप ज्ञानसँग सम्बन्धित छन् र त्यो ज्ञान विन्दुमा प्रकटीकरण हुन्छ । त्यो ज्ञान र चक्षुको केन्द्र निधारमा विम्बित गरिन्छ । त्यसैले विन्दु अर्थात् टीकाको महत्व । विवाह, व्रतबन्ध , पूजा, शुभकार्य , न्वारान, दशैं, तिहार, सोह्रै संस्कारहरुमा टीका, विन्दु अर्थात् ज्ञानको ज्योतिको संकेतलाई सर्वोपरी मानिन्छ । यसरी हिन्दु धर्म ज्ञानका ज्योतिको विन्दुबाट सर्वत्र फैलिएको हो । त्यतिबेला जसजसले तत्कालीन समस्या समाधाका लागि ज्ञान दिन सक्थे उनीहरुलाई भगवान् मानेर ३३ प्रकारका भगवान्को परिकल्पना गरिएको हो । आजसम्म पनि मानिस कतै यात्रामा निस्कँदा, लडाँमा जाँदा शुभकार्यमा जाँदा ज्ञानज्योति विम्ब टीका लगाएर बिदा गरिन्छ । ताकि हाम्रो ज्ञानको ज्योतिले हरेक समस्या समाधान गर्ने बाटो सहजै प्रदान गर्न सकोस् ।

वेदका प्रत्येक ऋचामा या त ज्ञान छ या विजयको कामना गरिएको छ । संधर्षमा शान्ति र शान्तिमा संघर्षका भावनाहरु वेदमा बोलिए । जहाँ न जाति छ, न छुवाछूत छ, केही पनि छैन । ज्ञानको विजयको रुपमा हिन्दु धर्म सबैको निर्विकल्प थियो । कालान्तरमा यसलाई जाति प्रथाले ज्यादै हानि पुर्यायो। यो प्रथामा धर्मले छुवाछ्रूत गरेको होइन । जाति पर्था राजनीति र सामन्तवादभित्रको कुचिन्तनले ल्याएको हो । पछि केही कुचाली संस्कृत विद्वानले आफूबाहेक अरु सबैलाई सानो देखाउन वर्ण व्यवस्था राखेका हुन् । अन्यथा ज्योतिर्विद् ईश्वरको नजरमा कुनै जाति र वर्णको भेद वेदले स्वीकार्दैन ।
पुनश्चः हिन्दुधर्म विन्दुबाट अपभ्रश भएको हो जसको मूल आधार ज्ञानको ज्योतिको विम्ब भन्ने अर्थमा रहेको छ । जुन हाम्रो महान चाड दशैंको टीका, तिहारको टीका, हरेक धार्मिक कार्यमा टीका नै हाम्रो चेतना विम्बको प्रतीक हो ।

हिन्दुधर्मका हरेक पुराणमा जति बेला अन्याय अत्याचार हुन्छ त्यहाँ म आउँछु भनेर विष्णुलाई अगाडि सारिएको छ । वास्तवमा त्यो म तत्व अर्थात् दस अवतारहरु सबै ज्ञानका विम्ब थिए । विष्णु शब्द पनि विम्ब वा विन्दु सारमा टीकाबाटै बनेको हो । अदिति का २ छोरामध्ये एक हिरण्य गर्भले पृथ्वीलाई रसातलमा डुबाए, हाहाकार भयो, ज्ञान वा ज्योति वा विन्दु अर्थात् अहिले चलको नाम विष्णुलाई अह्वान गरियो । वराहलाई कुनै तरिकाले समुद्रमा पठाएर पृथ्वीलाई उद्धार गरियो । यसको अर्थ कुनै न कुनै रुपमा ज्ञानले काम ग¥यो । कुरा त्यत्तिले रोकिएन, क्रियाको प्रतिक्रिया भयो, हिरण्यकश्यपले फेरि ज्ञानको आराधाना गर्यो । उसले तिकडम निकाल्यो, काल त टार्न नसकिने भयो तर आकाशमा नमररूँ, पातामा मृत्यु नहोस्, मानिसले पनि नमारोस्, जनावरले पनि नमारोस् । दिनमा मर्न नपरोस् र रातमा पनि मर्न नपरोस् भनेर ज्ञान वा विन्दुबाट तरिका निकाल्यो । अर्को समूहले फेरि गहन ज्ञान निकालेर नरसिंह अवतार बनाएको परिकल्पना गरियो । विष्णु भनेको ज्ञानको विम्ब निकाल्न सक्ने समय–समयका फरक बौद्धिक संयोगको नाम हो ।

हरेक पुराण, उपनिषद्, सांख्य दर्शन चिन्तन हरेक क्षेत्रमा ज्ञानको ज्योति उत्सर्जन विम्ब को विन्दुबाट हिन्दुधर्म सञ्चालित छ । यसमा पूर्ण विज्ञान छ यसैले रावण जहाजमा चढेर चित्रकुट आउन सक्छन् र रामले समुद्रमा पुल बनाउन सक्छन् । त्यस्ता कार्यमा बुद्धिको प्रयोग हुने हुँदा विम्ब स्वरुप टीका लगाउने चलनको सुरुवात भएको हो ।

यी यावत् कुराको बीचमा हिन्दुधर्मले राज्य र सिमानाको परिकल्पना गरेको छ । त्यसैले स्वर्गमा कु भएको कथा पढ्न पाइन्छ । इन्द्रलाई नहुषले, वाणासुरले, बलिले, तारकाशुरले कु गरेका छन् । इन्द्रले जितेर विजय जुलुश मनाएका छन् । हिन्दु धर्ममा सिमाना संरक्षणका लागि र राज्य बचाउनका लागि अनेक ज्ञान–विज्ञानका काम भएका छन् । अन्तमा विजेताले ज्ञान ज्योति विन्दु स्वरुप टीका लगाएर उत्सव मनाउँछन् ।

रामले जब रावणलाई वाण हानेर लडाउनुभयो त्यतिबेला मृत्यु प्रतीक्षारत रावणसँग केही अर्ती लिनुपर्दछ भनेर लक्ष्मण जानुभयो । रावणले केही अर्ती दिनुका साथै अन्तमा रामलाई भेट्ने इक्षा गरेको प्रसंग छ । त्यो इक्षा पूरा गर्न जब राम रावण नजिग पुग्नुभयो रावणले भने– हे राम ५ कुरामा म तिमीभन्दा माथि छु । कुल खानदान मेरो महान् छ, फौज, सेना, राज्य कुनैमा म तिमीभन्दा तल छैन । लंकाको सेना पृथ्वीको सबैभन्दा शक्तिशाली सेना हो । स्वर्गमा लडाइँ गर्दा लंकाका सेनापतिहरुसँग सरसल्लाह गरिन्छ । राज्य व्यवस्था यहाँको व्यवस्थित छ । कमी कहीं छैन । सुनको लंका हो, यहाँ कोही भोको, नांगो र दरिद्र छैन । यस्तो ठउँमा २०० वटा बाँदरको सेना ल्याएर मलाई मेरै राज्यमा मार्नु सामान्य कुरा होइन । यो कसरी भयो ? भनेर प्रश्न सोध्दा रामले खोइ मलार्इ त थाहा छैन भन्नुभयो ।

रावणले फेरि जिद्धि गरे । होइन यो तिमीलाई थाहा छ, राम । मेरो कमजोरी कहाँ रह्यो ? यो प्रश्नको उत्तर नपाउँदासम्म मेरो प्राण नजाने भयो, मलाई उत्तर देउ भनेर पटक–पटक अनुरोध गरेपछि रामले भन्नुभयो– रावण अरु सबै लंकामा व्यवस्थित थियो तर तिमीले देशको सिमाना बलियो बनाउन सकेनौ । समुद्रबाट कोही पनि आउन सक्दैन भनेर समुद्र तिरको भागमा कडा निरिक्षण व्यवस्था नगरेकाले नै तिम्रो पराजय भयो । सिमानालाई चारैतिरबाट शुरक्षित राख्न जरुरी थियो । त्यहाँ चुक्नु नै तिम्रो कमजोरी हो । सुरक्षित सिमाना नभएको देशले कहिल्यै पनि रचनात्मक प्रगति गर्न सक्दैन । यो चुकले नै तिम्रो सम्पूर्ण सुशासन र सम्पन्नताका दाबीहरुलाई झूठो प्रमाणित गरिदियो । रामले यति भनिसकेपछि रावणको मनको जिज्ञासा पूरा भयो । त्यसपछि उनको मृत्यु भयो र सर्वत्र विजय उत्सवसहित विन्दु लगाउन थालियो ।

हिन्दु धर्ममा खुला सिमाना पूर्ण रुपमा पापको प्रतीक र मृत्युको कारक मानिन्छ । सिमानाको बढोत्तरीलाई विजयको संकेत र संकुचनलाई पीडा बोधकको रुपमा देखाइन्छ । धर्मनिष्ठ मानिस जो जहाँ गएको भए पनि दशैंको टीका लगाउन आफ्नो मूल थलोमा फर्कन चाहनु, मृत्यु आफ्नै घरमा होस् भन्ने चाहना राख्नुजस्ता सम्पूर्ण कुरालाई अध्ययन गर्दै जाने हो भने हिन्दुहरु जहिले पनि आफ्नो देशको सिमाना बलियो भएको देख्न चाहन्छन् । यसलाई स्वाभिमानको प्रतीक ठान्छन् । हिन्दु धर्मबाहेक अन्य धर्ममा राज्यको सिमानाको महत्व यसरी व्याख्या गरिएको हुँदैन । यो धर्मग्रन्थबाट पनि अध्ययन गर्न सकिन्छ । बलिराजासँग भिक्षा माग्दा पनि विन्दु स्वरुप विष्णुले ३ पाइला राख्ने जमिन नै मागेका छन् ।

यसरी सिमानाको बलियोपनजस्तो विश्वमा कुनै स्वाभिमान छैन । ज्ञान र ज्योतिको स्वरुप टीका (विन्दु) जस्तो कुनै वैज्ञानिक कर्म प्रतीक र उपलब्धि छैन । यसले ज्ञानलाई सम्मान गर्दछ । यही नै हिन्दु धर्म हो तर आज यसलाई वैज्ञानिकताबाट कर्मकाण्डको काल्पनिकतामा प्रवेश गराइँदै छ ।

  • रामप्रसाद गौतम

प्रकाशित मितिः शुक्रबार, कात्तिक ३०, १४:३९