काठमाडौंः हुण्डी कारोबार गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२३ ओमबहालस्थित होटल गोल्डेन लिफबाट ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–११ ताहाचल बस्ने झापा दमक नगरपालिका–११ घर भएका ३१ वर्षीय विकास मितल, काठमाडौं महानगरपालिका–३१ बस्ने झापा घर भएका २७ वर्षीय कमल मितल र काठमाडौं महानगरपालिका–२२ बस्ने पर्वत कुश्मा नगरपालिका–१ घर भएका ३२ वर्षीय गणेश पौडेल रहेको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जले जनाएको छ ।

उक्त होटलमा अवैध रुपमा हुण्डी कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा ब्यूरोबाट खटिएको प्रहरीले उनीहरुलाई गैरकानुनी रुपमा कारोबार गरिरहेको अवस्थामा ९९ लाख ८४ हजार रुपैयाँ र ९ सय अमेरिकी डलर सहित पक्राउ गरेको ब्यूरोका उप–निर्देशक प्रहरी उपरीक्षक वेल बहादुर पाण्डेले जानकारी दिए ।


उनीहरुलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाइएको उनले बताए ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १८ मंगलबार, १९:२४