काठमाडौंः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार राति भएको खेलमा हैदराबादले राजस्थानलाई ८ विकेटले पराजित गरेको हो ।

राजस्थानले दिएको १ सय ५५ रनको लक्ष्य हैदराबादले १८ ओभर २ बलमा मात्र २ विकेटको क्षतिमा भेट्टायो ।

हैदराबादको जितमा मनिस पाण्डेले अविजित ८३, विजय शंकरले अविजित ५२, जोनी बेयरस्टोले १० र कप्तान डेभिड वार्नरले ४ रन बनाए ।

राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।


राजस्थानका लागि सन्जु सामसनले ३६, बेन स्टोक्सले ३०, रियान परागले २०, कप्तान स्टिभ स्मिथले १९, रोबिन उथप्पाले १९, जोफ्रा आर्चरले अविजित १६ र जोस बट्लरले ९ रन बनाए ।

हैदराबादका जासन होल्डरले ३ तथा विजय शंकर र राशिद खानले १/१ विकेट लिए ।

यस्तै, हैदराबादले राजस्थानसँग अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा राजस्थानले हैदराबादलाई ५ विकेटले हराएको थियो ।

यस जितसँगै हैदराबाद १० खेलमा ८ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा समेत उक्लिएको छ ।

राजस्थानले भने ११ खेलमा ८ अंक जोडेको छ । राजस्थान पुछारबाट दोस्रो स्थानमा रहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ७ शुक्रबार, ०५:४६