काठमाडौंः फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । यस्तै तराई मधेशका जिल्लामा भने भोलि मनाइने गरिन्छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रुपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

मानिसहरुले एक आपसमा विभिन्न प्रकारका रङहरुले एक अर्कालाई रंग्याउंदै आपसी स्नेह, सद्भाव एवं भाईचाराको सम्बन्धलाई अझ मजवुत बनाउँछ्न् ।

नेपालमा विशेष गरि होली दूई दिन मनाउने चलन रहेको छ । होली खेल्नुभन्दा ठिक अघिल्लो दिन होलिका दहन गर्ने प्रचलन रहिआएको छ ।


। नेपालको पहाडी क्षेत्रमा पुर्णिमाको अघिल्लो दिन होलिका दहन गरेपछि होली मनाउने गरिन्छ । नेपालको तराई क्षेत्रमा भने पुर्णिमाको दिन होलिका दहन गरेर अर्कोदिन होलि मनाउने गरिन्छ ।

अष्टमीदेखि पूर्णिमासम्म आठ दिनसम्म मनाइने पर्व हुनाले फागुलाई ‘होलाष्टक’ भनिन्छ । मुख्य दिन भने पूर्णिमा वा चैत्र कृष्ण प्रतिपदालाई लिइन्छ ।

मनोरञ्जनका लागि मनाइने यो पर्व पछिल्लो समयमा आएर अझ सामाजिक मेलमिलापको रुपमा मनाइन्छ । नेपालका विभिन्न समुदायका अन्य धर्मावलम्वीहरुले समेत होली पर्वलाई मनाउँदै आएका छन् । नेपालका विभिन्न स्थानहरुमा परम्परागत फागु गीत गाउँदै, नाच्दै बालबालिका, युवायुवतीदेखि लिएर वृद्ध वृद्धा सम्म सबैले होलिलाई अत्यन्तै उत्साही भएर मनाउने गर्दछन् ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।

गत वर्ष जस्तै यस वर्ष पनि कोरोनाको प्रभाव विश्वव्यापीरुपमा बढ्दै गएकाले फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ । साथै घर परिवारमै फागु पूर्णिमा मनाउन पनि प्रशासनले अनुरोध गरेको छ ।


प्रकाशित मितिः २०७७ साल चैत १५ गते आइतबार, ०६:५५