जाजरकोटः जिल्ला अस्पताल जाजरकोटमा कार्यरत एकजना स्वास्थयकर्मीले ११ वर्षसम्म कार्यालयमा हाजिर नहुँदा पनि जागिर कायमै छ ।

अस्पतालमा कार्यरत छैटौँ तहका स्वास्थ्य सहायक धनिकलाल यादव २०६४ सालदेखि सम्पर्कविहीन छन् । उनी कहाँ छन् के गरिरहेका छन्, अस्पताललाई कुनै जानकारी छैन तर उनी कार्यरत दरबन्दी उनकै नाममा होल्ड भएर बसेको छ ।

स्वास्थ्य सेवा ऐन र नियमावलीअनुसार ९० दिनसम्म बिना सूचना कार्यालयमा अनपस्थित भए विभागीय प्रमुखले स्वतः अवकाश गर्न सक्ने कानूनी प्रावधान छ ।

अस्पताल प्रशासनले उनलाई कारबाहीका लागि सम्बन्धित निकायमा पटकपटक लिखित पत्राचार गरे पनि सुनुवाइ नभएको अस्पताल प्रशासनले जनाएको छ ।


अस्पताल प्रशासनका अनुसार यादवले पाउने सबै बिदा सकिइसकेका छन् । यस अवधिमा उनले कार्यालयबाट तलबसमेत लिएका छैनन् । स्रोतका अनुसार मेडिकल अधिकृतको अध्ययन पूरा गरिसकेका यादवले सर्लाहीको लहानमा निजी क्लिनिक सञ्चालन गरेर बसिरहेका छन् ।

नियमित हाजिर भएर पाउने सुविधाभन्दा निजी क्लिनिकमा धेरै पैसा कमाइ हुुने त छँदैछ पहुँचको भरमा यसरी नै जागिर जोगाउन सकिए पेन्सनलगायतका सुविधा उपयोग गर्न पनि उनले जागिर होल्ड गरेर बसेका छन् ।

लामो समयदेखि अस्पतालमा कार्यरत स्वास्थ्य सहायक सम्पर्कविहीन हुँदा उपचार सेवा प्रभावित भएको छ । दरबन्दी होल्ड छ, यादवलाई कारबाही गरी पदपूर्ति गर्न बारम्बार विभागमा ताकेता गर्दा पनि सुनुवाइ नभएको अस्पताल प्रशासनले जनाएको छ ।