काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालीन राजनीतिक दल र विद्रोही माओवादीबीच भारतमा भएको १२ बुँदे समझदारीमा भारतको कुनै पनि संलग्नता नरहेको बताएका छन् ।

आइतबार काठमाडौंमा लक्ष्मण पन्तद्वारा लिखित ‘नेपाल, भारत र छिमेकः चार दशकका मुख्य घटना’ नामक पुस्तकको विमोचन गर्दै नेता नेपालले यस्तो अभिव्यक्ति दिएका हुन् ।

नेता नेपालले भने, ‘भारतको संलग्नतामा बुँदे समझदारी भएको भन्ने कुरा गरिन्छ त्यो विल्कुलै होइन तत्कालीन सात राजनीतिक दल र विद्रोही माओवादीसँग १२ बुँदे समझदारी गर्दा भारतसँग कुनै परामर्श समेत छैन ।’

त्यो समझदारीका लागि तत्कालीन माओवादी विद्रोहका कमाण्डर पुष्पकमल दाहाललाई सहभागी गराउन आफ्नो मुख्य भूमिका आफुको रहेको भन्दै उनले नारायणकाजी श्रेष्ठलाई आफूले बोलाउन पठाएपछि दाहाल त्यो समझदारीका लागि दिल्ली आएको बताए ।


कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई पनि आफूले टेलिफोन संवादमार्फत् वार्तामा बोलाएको नेता नेपालको ठोकुवा थियो ।

नेता नेपालले समझदारीका लागि तत्कालीन नेकपा एमालेको महासचिवको तर्फबाट आफूले, कांग्रेसको तर्फबाट कृष्णप्रसाद सिटौला र विद्रोही माओवादीको तर्फबाट डा. बाबुराम भट्टराईले १२ बुँदे समझदारीका लागि खेस्रा तयार पारेको सोहि कार्यक्रममा बताए ।


प्रकाशित मितिः आइतबार, २२ भाद्र, १८:०६