काठमाडौंः नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा घरेलु टोली नेपालले कास्य पदक जितेको छ ।

सोमबार बिहान भएको खेलमा माल्दिभ्सलाई ५ विकेटले पराजित गर्दै नेपालले कास्य पदक जितेको हो ।

माल्दिभ्सले दिएको ९५ रनको लक्ष्य नेपालले १६ ओभर १ बलमा ५ विकेट गुमाउँदै पुरा गरेको हो ।

नेपालका आरिफ शेखले सर्वाधिक ३२ रनको योगदान दिए । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २२, रोहित पौडेल १५, बिनोद भण्डारीले १२ र पवन सर्राफ १० रनमा अविजित रहे ।

माल्दिभ्सका उमर अदमले ३ र लिम सफिगले १ विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टस हारेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन मात्र बनायो ।


माल्दिभ्सका लिम साफेगले अविजित १९, मोहमद रिसवानले १७, कप्तान मोहमद माफोज, १६ र अमिल माउरुफले १३ रन बनाए ।

नेपालका ललित नारायण राजवंशीले ३, सुशन भारीले २ र पारस खड्काले १ विकेट लिए ।

पुरुषतर्फको स्वर्णको लागि सोमबार नै श्रीलंका र बंगलादेशले खेल्ने छन् ।

साग क्रिकेटमा नेपालले कास्य जितेको पहिलो पटक हो । भारत र पाकिस्तान नभएको अवस्थामा नेपालले स्वर्णको लक्ष्य राखेको भएपछि श्रीलंका र बंगलादेशसँग पराजित हुँदा नेपालले कास्यका लागि खेलेको थियो । महिला क्रिकेटमा पनि नेपालले कास्य नै जितेको हो ।

यो पनि पढ्नुहोस् ।


प्रकाशित मितिः सोमबार, मंसिर २३, १२:२०