काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि मंगलबार चीनको राजधानी बेइजिङ प्रस्थान गर्दै छन् । चिनियाँ समकक्षी ली खछ्याङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली चीन जान लागेका हुन्।

प्रधानमन्त्री ओली १ सय १९ जना सहभागी टोलीको नेतृत्व गर्दै चीन जान लागेका हुन् । भ्रमणका अवसरमा दुई पक्षीय सहयोग, सहकार्य र संयुक्त लगानीका विषयमा छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

आफ्नो चीन भ्रमणबारे सोमबार दुवै सदनलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले भ्रमण क्रममा चिनियाँ राष्ट्रपति सी चिङफिङ, प्रधानमन्त्री ली खछ्याङ लगायत चीनका उच्चस्तरीय नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताए ।


भ्रमणका क्रममा रेल–वे, पारवहन, क्रस बोर्डर ट्रान्समिसन लाइन, सातै प्रदेशमा विपद् उद्धार केन्द्र निर्माणमा चिनियाँ सहयोग लगायतका विषयलाई प्रमुख एजेन्डा बनाएर छलफल गर्ने तयारी भइरहेको छ ।

भ्रमणमा प्रधानमन्त्री ओलीले चीन सरकारसँग गरेका पुरानै १० बुँदे सहमति कार्यान्वयनमा जोड दिने बताइएको छ ।

पुराना सहमतिसँगै ट्रान्स हिमालय नेटवर्क अन्तर्गत रेलवे, सडक मार्ग, क्रस बोर्डर ट्रान्समिसन लाइन र यातायात तथा पारवाहनका विषयलाई नेपालका तर्फबाट जोड दिइने बताइएको छ ।