काठमाडौंः महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको सवारी व्यवस्थालाई थप सुरक्षित, व्यवस्थित एव प्रभावकारी बनाउनको लागि विभिन्न अभियानहरु सञ्चालन गरिरहेको छ ।

महाशाखाले बेला–बेलामा जनचेतनामुलक कार्यक्रमहरु मार्फत ट्राफिक नियम र सडक सुरक्षा सम्बन्धि शिक्षालाई व्यापक बनाउँदै ट्राफिक व्यवस्थापनमा सुधार समेत गर्दै आइरहेको छ ।

पछिल्लो समय ट्राफिक महाशाखाले गीत सांगितको माध्यमबाट ट्राफिक नियम सिकाउँदै आएको छ, यसलाई थप प्रभावकारी बनाउन ट्राफिक प्रहरीले नृत्य गरेको भिडियो तयार गरेको हो ।

गीत संगीतका माध्यमबाट ट्राफिक नियम सिकाउँदा आम सडक प्रयोगकर्ताले सरल रुपमा सम्झिने, ग्रहण गर्ने र सजिलै पालना गर्ने हुनाले महाशाखाले व्यवहारिक रुपमा प्रयोग हुने २५ वटा ट्राफिक नियम समेटिएको ट्राफिक नृत्य भिडियो रिलिज गरेको महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले बताए ।


यस गीतमा ट्राफिक संकेतको पालना गर्न, मादक पदार्थ सेवन गरि सवारी नचलाउन, हेल्मेट र सिट बेल्टको प्रयोग गर्न, लेन अनुशासनको पालना गर्न, जथाभावी ओभरटेक नगर्न, जेब्रा क्रसिङ्ग र आकाशेपुलको प्रयोग लगायतका ट्राफिक नियम समेटिएका छन् ।

यस गीतमा सरोज ओली र एलिना चौहानको स्वर, नृत्य कोरियोग्राफर मनराम के.सी. र निर्देशन तथा छायांकन प्रकाश भट्ट, सम्पादन बिष्णु शर्मा र संयोजन बिनोद के.सी.ले गरेका छन् ।

आजै देखि यस जनचेतनामुलक ट्राफिक गीतलाई मेट्रो ट्राफिक एफ एम ९५.५ मेगाहर्जको यूट्युब च्यानल लगायत अन्य सामाजिक सञ्जालबाट रिलिज गरिएको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल मंसिर ५ शुक्रबार, १९:१७