काठमाडौंः राष्ट्र निर्माता वडामहाजधिराज पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीका अवसरमा पुस २७ गते सोमबार मुलुकभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय एकता दिवस मनाइँदैछ ।

नागरिक तहबाट आयोजना हुने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा मुलुकका विभिन्न क्षेत्रका विशिष्ट महानुभाव सहभागी हुने छन् ।

सिंहदरबार पश्चिम मूलद्वारमा अवस्थित राष्ट्र निर्माताको शालीकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उनको योगदानको स्मरण गरिने छ ।

विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए ।

तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूरदृष्टि व्यक्तिका रुपमा उनको सर्वत्र प्रशंसा हुँदैआएको छ ।


पुर्खाहरूको वीरता, चातुर्य र स्वाभिमानयुक्त गुणले गर्दा नै हामीलाई सदासर्वदा स्वाधीन मुलुकको गौरवशाली नागरिकका रूपमा शिर ठाडो पारेर बाँच्न मद्दत पु¥याएको भनी राजनेताबाटै समेत उनको योगदानको सह्राना भएको छ ।

नेपाली सेनाले पनि सैनिक मुख्यालय जङ्गी अड्डामा अवस्थित राष्ट्र निर्माताको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय गरेको छ ।

मुलुकको विकास र समृद्धिका लागि सुशासन कायम गर्न घुस दिने र लिने दुवै देशका शत्रु हुन् भन्ने राष्ट्र निर्माताको धारणा सदासर्वदा स्मरण योग्य छ ।

राष्ट्र निर्माताको जन्म दिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा घोषणा गर्न पछिल्लो समय प्रखर रुपमा आवाज मुखरित हुँदै आएको छ ।

एकीकरण नभएको भए औपनिवेशिकताको प्रवाहलाई रोक्न र स्वतन्त्र राष्ट्रकै रूपमा नेपाल रहन सम्भव नरहेको भनी विश्लेषण गरिँदै आएको छ ।


प्रकाशित मितिः २७ पुस २०७७, सोमबार, ०८:०९