काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ केजी चाँदीसहित एक भुटानी नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राहदानी नम्बर जि १२८९३२ वाहक भुटानी नागरिक ५१ वर्षीय गौरव दोर्जे रहेका छन् ।

विमानस्थलबाट ड्रुक एयरको उडानबाट भुटानतर्फ जान लागेका दोर्जेलाई अवैध रुपमा भन्सार छली लैजाने लागेको चाँदी सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एक्सरेमा स्क्रिनिङ गर्ने क्रममा उनको साथमा रहेको ब्यागबाट ९९९ लेखिएको विस्कुट आकारमा १४ वटा टुक्रामा रहेको उक्त परिमाणको चाँदी फेला परेको हो ।


पक्राउ भुटानी नागरिकलाई बरामद गरिएको चाँदी सहित आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।


प्रकाशित मितिः मंगलबार, कार्तिक २६, १२:०७