काठमाडौँः त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करी प्रकरणमा मुछिएका मध्ये एक अभियुक्तको घरमा गृह मन्त्रालयको छानबिन समितिले छापा मारेको छ।  गृहका सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले सुन तस्करीमध्येका एक अभियुक्त मोहनकृष्ण (एमके) अग्रवालको  घरमा शुक्रबार साँझ छापा मारेको हो ।

शुक्रबार प्रकरणको अनुसन्धान गर्न गठिन विशेष अनुसन्धान समितिले उनको घरमा छापा मारेर ३० लाख रूपैयाँ नगद, दुर्इ किलो चाँदी र १० तोला सुन बरामद गरेको स्रोतले जनाएको छ । घरमा भएको अन्य सुन उनीले भाग्दा लिएर गएको हुन सक्ने समितिको अनुमान छ । पक्राउ पर्नुअघि कालिकास्थानमा बस्दै आए पनि अहिले अग्रवालको घरमा ताल्चा लगाइएको छ  ।


। सुन तस्करीको नेट्वर्क चलाइरहेका अग्रवाल प्राय भारतमै बस्थे । उनले अवैध धन्धा पनि भारतबाटै चलाउँदै आएका थिए ।

गत फागुन ९ गते त्रिभुवन विमानस्थल हुँदै काठमाडौँमा छिराएपछि गायब पारिएको साढे ३३ किलो सुन अग्रवालले नै मगाएको समितिले विभिन्न चरणमा गरेको अनुसन्धानबाट खुलेको थियो ।