काठमाडौं: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २०७० असार २६ मा कोटेश्वरबाट बरामद गरेको ३५ केजी सुनको सुराकी दिनेहरूले राज्यले आफूहरूलाई सुराकीबापतको रकम नियमअनुसार दिन नखोजेको गुनासो गरेका छन् । सुराकीमा संग्लनहरूले अर्थमन्त्री युवराज खतिवडालाई पत्र नै लेखेर सुन बरामद हुँदाको प्रचलित कानुनअनुसार सुराकी खर्च उपलब्ध गराइदिन अनुरोध गरेका छन् ।

सुन बरामद हुँदाका बखत भन्सार नियमावली २०६४ को नियम ४७ मा रहेको सुराकी र प्रतिवेदकहरूले पाउने पुरस्कारसम्बन्धी व्यवस्थामा बरामद सुनको मूल्यको १५ प्रतिशत सुराकीलाई दिने उल्लेख थियो । सुराकीमा संग्लन सदस्यले आफूले सुनको तत्कालीन बजार मूल्य १४ करोड ५२ लाख ७० हजार रुपैयाँबाट लाभांश कर कटाएर डेढ करोडभन्दा बढी रकम पाउनुपर्ने दाबी गरेका छन् ।


सुराकी खर्च कसलाई दिने भन्ने विवाद र मुद्दाको अन्तिम फैसला प्रक्रियाका बखत २०७१ माघमा भन्सार नियमावली परिवर्तन भई सुन तस्करीका सुराकीलाई बरामद सुनको १० प्रतिशत वा १० लाखमध्ये जुन घटी हुन्छ, सोहीअनुसार दिने गरी नियमावली संशोधन भएको थियो । कान्तिपुर दैनिकमा समाचार छ ।