धनगढीः कञ्चनपुर बेलौरी नगरपालिका ६ रिचाहका उग्रसेन राना २२ वर्षकै उमेरमा हातहतियार खरखजाना र चोरी मुद्दामा जेल परे। उनी ४ बर्षको जेल सजाय कटाएर २०७१ सालमा रिहा भए। सजाय भुक्तान गरेपछि पनि उनमा सुधार आएन। उनी सञ्जाल नै बनाएर आपराधिक गतिविधिमा सक्रिय भए।

गत जेठ १३ गते धनगढीको व्यस्त बजारमा दिनदहाडै निर्मल कार्कीलाई गोली हानेर उनले साढे ९ लाख लुटे। चोरी, डकैतीमा जेल सजाय काटेका उनले आपराधिक कर्तुतको आकार बढाउँदै गोली हानेर लुट्ने ठूलो घटनासम्म पुगे।

यसैगरी कञ्चनपुर कृष्णपुर नगरपालिका–६ बस्ने २७ वर्षीय कल्लुराना बलात्कार मुद्दामा ६ वर्ष जेल सजाय काटेर २०७४ माघमा छुटेका छन्।


जेलबाट छुटेपछि उनी पनि आपराधिक सञ्जालमा जोडिन पुगे। धनगढीमा बैंकबाट पैसा झिकेर आइएमईमा लगिँदै गरेको साढे ९ लाख रुपैयाँ योजना बनाएर लुट्नमा उनी पनि संलग्न भए।नागरिक दैनिकमा समाचार प्रकाशित छ ।