सिन्धुलीः अधिक भारका सवारीको चापले बीपी राजमार्ग झन् जीर्ण हुँदै गएको छ। बनेपा-बर्दिवास सडक खण्डअन्तर्गत सिन्धुलीका विभिन्न स्थानमा खाल्डैखाल्डा छन्। ६ महिनाअघि टालटुल पारिएको सडक अहिले भत्किएर उस्तै भइसकेको छ।

समयमै मर्मतसम्भार नहुँदा राजमार्गको भविष्य नै खतरामा पर्न लागेको भन्दै स्थानीय चिन्तित छन्। राजमार्गको दोस्रो खण्डअन्तर्गत कमलामाई नगरपालिकाको चियाबारी र पीपलभन्ज्याङबीचका घुम्ती खाल्डाकै कारण छिचोल्न मुस्किल पर्ने गरेको सवारी चालक बताउँछन्। त्यहाँ मात्र होइन, अन्यत्र पनि ठूल्ठूला खाल्डा देखिन्छन्।

भूकम्पपछि भत्किएका र अन्य खण्डमा ठूला खाल्डाले दुर्घटना बढ्न थालेपछि सामान्य टालटुल गरिएको थियो।


। सवारी व्यवस्थापन र समयमा उचित मर्मतसम्भार नभएकाले दुर्घटना अझ बढ्ने निश्चित छ,’ सञ्चारकर्मी कृष्णहरि घिमिरेले भने, ‘सवारी चाप बढदो छ, सडक साँघुरो र खाल्डा भएकाले जोखिम थपिएको छ। उनी आफैं पनि तीन महिनाअघि कमलामाई नगरपालिकाको करकरेमा दुर्घटनामा परेका थिए।

भूकम्पले भत्किएको चियाबारी र पीपलभन्ज्याङबीचको घुम्ती विशेष ध्यान दिएर मर्मतसम्भार गर्नुपर्नेमा आँखामा छारो हालेझैं काम गरिएको छ। उक्त घुम्तीको निर्माणकार्य तीन महिना पनि टिकेन। दुईपटक मर्मत गरिँदा पनि भत्किसकेकाले उक्त स्थानमा गुणस्तरहीन काम भएको प्रस्टिने घिमिरेले बताए। जापान सरकारले हस्तान्तरण गरेपछि उक्त सडक मर्मतसम्भारको जिम्मा सडक आयोजनाले लिएको छ।

खाल्डाकै कारण यात्रुसमेत हैरान हुन्छन्। सिंगल लेनको सडकमा खाल्डैखाल्डा भएकाले मोटरसाइकलमा यात्रा गर्नसमेत कठिन हुने गरेको स्थानीय पुष्कर थापाले बताए। पूर्वी तराईलाई राजधानीसँग जोड्ने छोटो दूरीको मार्ग भएकाले सवारी चाप निकै छ। मर्मतसम्भार पनि गुणस्तरहीन हुने भएकाले टिक्दै टिक्दैन,’ उनले भने।

राजमार्गसँग जोडेर भवन निर्माण गर्ने क्रममा घडेरी खार्दा एक्साभेटर, जोसीभीलगायत ठूला उपकरण चलाइएकाले आसपासमा समेत खाल्डैखाल्डा छन्। समयमै सडक मर्मत नगरिए यहाँका पर्यटकीय संरचनाको अस्तित्वसमेत गुम्न सक्ने स्थानीय बासिन्दाको भनाइ छ। पीपलभन्ज्याङ, ढुङ्ग्रेभन्ज्याङ, खुर्कोट, बारा, झाँगाझोली रातमाटा, नेपालथोकमा बढी खाल्डा छन्।

नेपालथोकदेखि धुलिखेलसम्म ठूला ट्रिपरले सडक भत्काएका छन्। साँघुरो र घुमाउरो राजमार्गको यात्रा जति रोमाञ्चक छ, खाल्डाले उत्तिकै समस्या निम्त्याएको छ,’ यात्रु सन्तोष कार्कीले भने।

सडक अझै भत्किए राज्यलाई ठूलो भार पर्ने गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्प कार्कीको भनाइ छ। ‘भार नियन्त्रण र समयमै मर्मत गरे मात्र राजमार्ग टिक्ने भएकाले स्थानीय तह र सडक आयोजनाले मिलेर काम गर्नुपर्छ,’ उनले भने।

यही राजमार्गअन्तर्गत ऐतिहासिक सिन्धुलीगढी पनि पर्छ। गढी अवलोकन गर्न र राजमार्गको सुन्दरता हेर्नकै लागि विभिन्न स्थानबाट पर्यटक आउने गरेका छन्। उक्त सडक जापान सरकारको २२ अर्ब लगानीमा निर्माण सम्पन्न भएको हो।

पछिल्लो समय सुनकोसीआसपास क्रसर उद्योग खुल्ने क्रमसँगै राजमार्गमा बाक्लै ट्रिपर गुड्ने गरेका छन्। सरकारले बीपी राजमार्गमा ठूला बस र ट्रकलाई अनुमति नदिए पनि ती ट्रिपर नियन्त्रण गर्न सकिएका छैनन्। कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।