काठमाडौः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सात प्रदेशका ७५३ वटै स्थानीय तहका प्रत्येक वडाका बुथ तहदेखि नै प्रशिक्षण गर्ने भएको छ ।

गत निर्वाचनमा भोगेको पराजयको कमीकमजोरीलाई सुधार्न बुथ तहसम्म पुग्न लागेको कांग्रेस उपसभापति विमलेन्द्र निधिले बताए ।

निर्वाचनमा भएको कमीकमजोरीका विषयमा केन्द्रमा भन्दा स्थानीय स्तरमा मतदानस्थल र बुथमा खट्ने नेता कार्यकर्ताहरूसँग बढी अनुभव भएकाले बुथ तहसम्म नै जाने तयारी गरिएको उनले बताए ।

निधिले प्रशिक्षणमार्फत राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता, मिश्रित निर्वाचन प्रणाली तथा अहिंसा र शान्तिका पक्षमा नीतिगत बहस हुने बताए ।


पार्टीको नीति परिवर्तनका विषय र नेतृत्व निमार्णका विषयमा कार्यकर्ता प्रशिक्षित गर्ने तयारी भएको उनले बताए ।

कांग्रेस पराजयको कारण र सुधार गर्नुपर्ने विषयमा बुथ तहसम्म संश्लेषण र प्रशिक्षण हुनेछ,’ पार्टीको नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुखसमेत रहेका निधिले भने ।

निधिले आगामी महासमिति बैठकअघि नै नीति तथा प्रशिक्षण प्रतिष्ठानले कार्यकारी कमिटी बनाएर स्थानीय स्तरसम्म प्रशिक्षण लैजाने जनाए ।

कांग्रेसले प्रशिक्षणमार्फत तल्लो तहदेखि नै कार्यकर्ताहरूलाई वैचारिक र संगठन सुदृढीकरण गर्ने लक्ष्यसहित प्रशिक्षण चलाउन लागेको हो ।