काठमाडौंः प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्ष स्थायी बसोबास गरेपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्थासहित नागरिकता विधेयक बहुमतले पास गरेको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठक उक्त प्रस्तावसहित नागरिकता ऐन संशोधन विधेयक बहुमतले पारित गरेर संसदमा पठाउने निर्णय गरेको हो ।

समितिले पारित गरेको उक्त प्रस्तावसहितको विधेयकमा विपक्षी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (राजपा र समाजवादी) र नेमकिपाले फरक मत राखेका छन् ।

वैवाहिक अंगीकृत नागरिकताबारे सहमति जुट्न नसक्दा नागरिकतासम्बन्धी विधेयक झण्डै दुई वर्षदेखि राज्य व्यवस्था समितिमा अड्किएको थियो ।


। पछिल्लो पटक भदौ २०७६ मा यसबारे सहमति जुटाउने प्रयास भएको थियो ।

तर शनिबार सत्तारुढ नेकपाले ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने निर्णय गर्‍यो । आज पार्टीको सोही निर्णयका आधारमा समितिमा रहेका नेकपा सांसदहरुले सात वर्षको प्रस्तावको पक्षमा मत जाहेर गरेका हुन् ।


प्रकाशित मितिः आइतबार, असार ७, २०७७, २१:५९