काठमाडौंः नयाँ ग्यास उद्योगीलाई ९० दिनभित्र प्रडक्ट डेलिभरी अर्डर (पीडीओ) लिन नेपाल आयल निगमले आग्रह गरेको छ ।

नयाँ उद्योग सञ्चालनको अनुमति पाएका ग्यास उद्योगीलाई ९० दिनभित्र पनि पीडीओ नलिए उद्योग खारेज हुने निगमले जनाएको छ ।

निगमले शाखा विस्तारको तयारीमा रहेका र निर्माणको चरणमा रहेका नयाँ ग्यास उद्योगीलाई आज सूचना जारी गर्दै यस्तो बताएको हो ।

पुराना ग्यास उद्योगीका लागि भने यो सूचना लागू नहुने निगमले जनाएको छ ।

ग्यास उद्योगको नयाँ लाइसेन्स लिएका, शाखा विस्तार गर्न अनुमति लिएका उद्योगीलाई ९० दिनभित्र पीडीओ लिन निगमको सूचनामा उल्लेख छ । सो समयभित्र पीडीओ नलिए शाखा विस्तार, उद्योगको लाइसेन्स खारेज हुने र पुनः समय नथपिने पनि निगमले जनाएको छ ।


दर्ता भएका ग्यास उद्योगहरुले निगमको विनियमअनुसार पीडीओ लिएर उद्योग सञ्चालन गर्नुपर्छ । तर, ०७१ माघ १४ पछि एलपी ग्यासका नयाँ तथा शाखा उद्योग निर्माण गर्न निगमबाट अनुमति लिई निर्माण गरिरहेका उद्योगीहरुले हालसम्म पनि पीडीओ लिएका छैनन् । निगमले ग्यास उद्योगहरुले पीडीओ लिन आनाकानी गरेपछि ९० दिने सूचना सार्वजनिक गरेको हो ।


प्रकाशित मितिः आइतबार, पुस १३, १५:२२