काठमाडौंः काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ८ सय २५ सवारी चालक कारवाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट शनिबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो । कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने १ सय ४२ जना, लेन उल्लंघन गर्ने २ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने १६ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने ७१ जना, अनावश्यक हर्न बजाउने १६ जना, ब्हील लकबाट २३ जना र अन्य ५ सय ५५ जना गरी जम्मा ८ सय २५ सवारी चालक रहेका छन् ।

यसैगरी काठमाडौं उपत्यकामा शनिबार २९ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ ।


। दुर्घटनामा एक जनाले ज्यान गुमाएका छन् भने १ जना गम्भीर घाइते र १६ जना घाइते भएका छन् ।