संखुवासभा: संखुवासभा सदरमुकाममा रहेको खाँदबारी नगरपालिकाका नगर प्रमुख मुरारीप्रसाद खतिवडाले सार्वजनिक स्थानमा क्यारेम र लुडो खेल्न प्रतिबन्ध लगाएका छन्। खाँदबारी नगरपालिकाको एक कार्यक्रमका बोल्दै उनले उक्त खेलमा आर्थिक चलखेल तथा अपराधको योजना स्थल बन्दै गएको हुँदा यस्तो कदम चाल्ने बताएका हुन्।

राजधानी सहित देशैभर क्यारम र लुडो खेलमा आर्थिक चलखेलका साथसाथै अपराधिक योजना बनाउने स्थलमा परिवर्तन हुँदै गएको छ । उक्त खेल मनोरञ्जन भन्दा जुवा तर्फ बढी केन्द्रित हुँदै गएको पाइन्छ । धेरै जसो युवाहरु क्यारम खेलमा केन्द्रित भएका छन् भने वृद्धहरु लुडो खेल तर्फ आकर्षित भएको पाइन्छ ।


। क्यारम र लुडो खेलमा आर्थिक लेनदेन नमिल्दा झैझगडा समेत हुने गरेको छ । यसले विधार्थीहरु माझ समेत नकारात्मक असर पर्दै गएको देखिन्छ । विशेष गरी  ग्रामीण क्षेत्रका विधार्थीहरु आफ्नो कक्षामा अनुपस्थिति हुँदै उक्त खेलमा संलग्न भएको पाइएको छ। उक्त खेलमा हारेको पैसा तिर्न वा पैसा अपुग हुने अवस्थामा युवाहरु चोरी तथा लुटपाटमा समेत संलग्न हुने गरेको पाइएको छ ।

यसले सानाबालबालिका माझ समेत नकरात्मक असर पर्ने गरेको छ । पढ्नेबुझ्ने उमेरमा यी बालबालिकाहरुले बिहानै देखि घर परिवार तथा समाजमा आफ्नो दाई तथा बुवाहरु यस खेलमा संलग्न भएको देख्दा उनीहरुको मन समेत पढाई भन्दा बढी यस्ता खेल तर्फ केन्द्रित हुने गरेको छ । समाजका यस्ता क्रियाकलापले बालबालिकाको  भविष्य माथी नै नकारात्मक असर पर्ने गरेको  देखिन्छ  । यसरी सार्वजनिक स्थलमा हुने यस्तो खेलले समाजमा नै नकारात्मक असर पर्न थाले पछि संखुवासभाका  नगर प्रमुखले चालेको उक्त कदम निकै नै स्वागतयोग्य छ र यसलाई देशभर विस्तार गर्न तर्फ सरकार लाग्नु पर्नेछ ।

नगर प्रमुख खतिवडाले सार्वजनिक स्थानमा क्यारेम र लुडो खेल्न प्रतिबन्ध लगाएकोमा  स्थानीयले खुसी व्यक्त गरेका छन्। मेयर खतिवडाले आफ्नो काममा सबैको सहयोग चाहिने र युवावर्गले साथ दिएमा यो योजना सफल हुने पनि बताए। क्यारेम र लुँडो खेल्दा सामान्य ढंगको मात्र नभई जुवा र तासमा जस्तो डिपो वा बाजी राख्दा यो खेलमा विकृति आएको उनको भनाइ छ। बजारका पसलका अगाडि वा  सार्वजनिक स्थानमा बाजी राखेर क्यारेम, लुडो खेल्दा युवाहरूको भविष्य अन्धाकार हुने भएकोले अब सार्वजनिक स्थानमा क्यारेम खेल्न र लुँडो खेल्न नदिने नगर प्रमुख खतिवडाले स्पष्ट पारे। युवा भोलिका दिनमा देशको लागि अत्यन्तै महत्त्वपूर्ण भएको हुनाले यस्तो खालका खेलहरूमा नअल्मलिन उनले युवाहरूलार्इ सुझाव दिए। नगर प्रमुख खतिवडाले क्यारेम र लुँडोलार्इ प्रतिबन्ध लगाउने योजना बनाइरहेका बेला बजार क्षेत्रका कतिपय होटलहरूमा दिउँसो तथा रातको समयमा अवैध ढंगबाट जुवा, तास खेल भइरहेको प्रति सरोकारवालाको ध्यान नगएको भन्दै स्थानीयले गुनासो गरेका छन्।