भक्तपुरः हरेक वर्ष महानवमीका दिन साँझ मनाइने भक्तपुरको प्रसिद्ध खःमेय् अर्थात् राँगो जात्रा सोमबार सम्पन्न भएको छ ।

धार्मिक एवम् सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने सो जात्रा महिषासुर दैत्यको प्रतीकका रुपमा गठेमङ्गलका दिन राँगोलाई ल्याएर भक्तपुरको नवदुर्गा मन्दिर प्राङ्गणमा बाँधेर राख्ने र सोही राँगोलाई महानवमीका दिन नगरभरि दौडाएर खःमेय् अर्थात् राँगो जात्रा गरिन्छ ।

नेपालभाषामा खःमेय् भनेको निख्खर कालो राँगो हो । सोही निख्खर कालो राँगोलाई दौडाएर गरिने जात्रालाई स्थानीय नेपालभाषामा खःमेय् ब्वाकेगु जात्रा भनिन्छ ।

दौडाउनु अघि राँगोलाई रक्सी खुवाएर मात्न लगाइन्छ ।


। मातेको राँगोलाई हुलहुजतकासाथ दौडाएर लगिन्छ । यो क्रममा बाटोभरि हजारौं नगरबासी दुवै छेउमा बसेर जात्रा हेर्ने गर्छन् ।

महिषासुरको प्रतीक खःमेय् नौरथाको नवमी कालरात्रीमा वध गरिन्छ ।

नवदुर्गा देवगृहमा राखिएका खःमेय्लाई तान्त्रिक विधिअनुरुप पूजाआजा गरी नवदुर्गा द्योछेंबाट बाहिर निकाली दौडाएर ब्रम्हायणी पीठसम्म पुर्‍याइन्छ । नगरको पूर्वस्थित ब्रम्हायणीमा पुर्‍याएपछि राति राँगो वध गरिन्छ ।

नवमीको राति ब्रम्हायणीमा राँगोको वध गरेपछि आज विजया दशमीका दिन त्यहाँ ठूलो मेला लाग्छ । मेला भर्न दशौं हजार श्रद्धालु ब्रम्हायणी पुग्छन् । दशमीमा मेला भर्न ब्रम्हायणीमा भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायत छिमेकी जिल्लावासी त्यहाँ पुग्छन् ।

फाइल तस्विर


प्रकाशित मितिः असोज २१, मंगलवार, ०७:३४